‘त्यो रातलाई सम्झदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ’ गत असार २५ गते राती पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ६ मराङमा आएको पहिरोमा ४ सन्तान गुमाउनुभएकी ४७  वर्षिया चनमति लामगाडेले भन्नुभयो ‘४ सन्तानको सास त दैवले चुड्यो,वाँकी बचेका ४ जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास ।’

आइतवार (भदौ १४ गते) दिउँसो म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढी पहिरो पीडितहरुलाई पठाएको सहयोग रकम बुझ्न मराङको बेसीमा आउनुभएकी चनमतिले रु ५० हजार सहयोग रकम बुझेपछि हिमालय टाइम्ससंग भन्नुभयो ‘मुटु भक्कानिन्छ,रिंगटा लाग्छ, मर्छु जस्तै हुन्छ तर,श्रीमानको मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर ।’

चनमतिका श्रीमान वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । घरमा रहेका २६ बर्षकी बुहारी सपना लामगाडे, ७ बर्षका नाति आशिस, ४ बर्षका नाति आयुष र ३ बर्षकी नातिनी आयुषालाई पहिरोमा गुमाउनु भएकी चनमति अझै सम्हालिन सकिरहनुभएको छैन ।

असार २५ गतेको मध्यरात । आकाशबाट मुसलधारे पानी पर्न थाल्यो । गोठमा बाँधेका गाईवस्तु कराउन थाले । मस्त निर्दाबाट बिउँझेकी चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो । दाम्लो फुकाएर गाईवस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजादै गर्दा पहिरो घरमाथि नै आइपुग्यो । मध्यरातको अध्यारोमा हेर्दाहेदै पहिरोले घर पुर्यो । घरभित्र रहेका ४ जना सदस्य पुरिए । यो सवै यति छिटो भयो की चनमतिले केही सोच्नै भ्याउनुभएन ।

असार २५ गते राती  धवलागिरि गाउँपालिका ६ मराङमा आएको पहिरोले चनमतिका ४ परिवारसंगै  सोही गाउँका १९ जनाले पहिरोमा ज्यान गुमाए । एकै घरका ४ जना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमति मात्रै होइन गाउँकै अर्की राजमति सिर्पाली पनि हुनुहुन्छ । राजमतिका पनि ४ जना सदस्यले पहिरोमा परि ज्यान गुमाएका छन् । राजमति बुहारीको उपचारका लागि पोखरामा हुनुहुन्छ ।

पहिरोमा परि मराङमा मात्रै १९ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाईते र दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन् । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन् ।

पहिरो गएको ५२ दिन वितिसक्दा पनि मराङका पहिरो पीडितहरुका लागि पुर्नवासको उचित प्रवन्ध हुन सकेका छैन । चनमति लगाएतका कतिपय पहिरो पीडितहरु पालटागेर बनाइएको छाप्रोमा रात कटाउन बाध्य छन् । खानका लागि देश विदेशमा रहेका विभिन्न संघसंस्था,सरकार र व्यक्तिहरुले सहयोग गरेका भएपनि बस्ने वासको अभावमा उनीहरुले असुरक्षित महशुस गरिरहेका छन् ।

मालिका गाउँपालिका ६ मराङका वडाअध्यक्ष राजाराम सुवेदीले पहिरो पीडितहरुका लागि एकिकृत पुर्नवासको व्यवस्था गर्ने की अलग अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल भएको बताउनुभयो । उहाँका अनुसार कतिपय पहिरो पीडितहरुको घडेरी समेत नभएकाले एकिकृत पुनर्वासको अवधारण ल्याइएपनि कतिपय चैं आफ्नै घडेरीमा वस्न चाहेकोले समस्या भएको छ । घडेरी समेत नभएकाहरुका लागि उचित स्थानको खोजी भैरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी मराङ रााम्चेकै ४६ बर्षिया राजमति सिर्पालीले पनि पहिरोमा ४ सन्तान गुमाउनुभएको छ  । २४ बर्षका छोरा मन बहादुर, २३ बर्षकी बुहारी कमला,७ बर्षकी नातिनी सुरक्षा र २ बर्षका नाति सुरजलाई आँखै अगाडि गुमाएकी राजमति पहिरोमा परी घाईते भएकी माइली बुहारीको उपचारका लागि अहिले पोखरा हुनुहुन्छ ।

राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयहरुले बताएका छन् । पहिरोले नामोनिसान मेटिने गरी भत्किएको घर, पाक्न लागेको खेतीपातीसँगै खेतबारी पहिरोमै पुरियो । गाउँमा गएर कमाइँ लाउने खेतबारी र बस्ने घर समेत नभएको अवस्थामा उहाँ अहिले पोखरामा नै बस्नु भएको वडाअध्यक्ष सुवेदीले बताउनुभयो ।

गाउँमा रहेका अन्य ११ जना मृतकका परिवारको अवस्था पनि दयनीय रहेको छ । कसैले बुबा गुमाएका छन् भने कसैले छोरा बुहारी र नाति नातिना गुमाएका छन् । कैयौं परिवार विस्थापित भएका छन् । पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरोमा,आफन्तकोमा र सार्वजनिक स्थानहरुमा रात कटाइ रहेका छन् ।

 जोखिमपूर्ण यात्रा : पाइला पाइलामा खतरा 

पहिरोका कारण विमको तल्लो वेसीदेखि मराङको बेसी गाउँ पुग्ने सडक नष्ट भएको छ । ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नु पर्ने अवस्था रहेको पहिरो पीडितहरुका लागि म्याग्दी समाज न्यूयोर्क अमेरिकाले पठाएको सहयोग रकम हस्तान्तरण गर्न मराङ पुग्नु भएका म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णवहादुर पुनले बताउनुभयो ।

‘ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नु पर्ने अवस्था रहेछ’ मराङका पहिरो पीडितहरुलाई ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम प्रदान गर्दै म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पुनले भन्नुभयो ‘हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ,सधैंभरी ओहोर दोहोर गरिरहनु पर्ने तपाइँहरुलाई कति समस्या होला ।’

वडाअध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै प्रदेश सरकारसंग अनुरोध गरिएको बताउनुभयो । ‘हाम्रो बजेटले सम्भव नै छैन,प्रदेश र संघ सरकारले ध्यान दिन आवश्यक छ’ वडाअध्यक्ष सुवेदीले भन्नुभयो ।

उहाँका अनुसार बाटो पैदल हिड्न लाएक बनाउनका लागि वडा कार्यालयको तर्फबाट मानिस र मेसिन लगाएर मर्मतको काम भैरहे पनि ठूल्ठूला पहरा र भीरमा काम गर्न सम्भव नभएकोले समस्या उत्पन्न भएको छ ।

Leave a Reply