बागलुङ नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि भदौ २ गते राती १२ बजेदेखि लागु जारि गरिएको निषेधाज्ञा आज राती १२ बजेदेखि हट्ने भएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले नगरपालिका क्षेत्रमा जारि गरेको निषेधाज्ञा आज राती १२ बजेदेखि हटाउने निर्णय गरेको हो । समितिको बैठकले निषेधाज्ञा हटाइए पनि भदौ २७ गते राती १२ बजेसम्म निजी सवारी साधनहरुलाई जोर विजोरको आधारमा संचालन गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नगरपालिका क्षेत्रको निषेधाज्ञा हटाइएपनि कोरोना जोखिम अझै बढि रहेकोले अनावश्यक घर बाहिर हिड्डुल नगर्न र अत्यावश्यक कामको लागि बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र दुई मिटरको दुरि कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाको पालना गर्नुपर्ने निर्णय गरेको बताए ।

उनले मानिसहरु भेला जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने जात्रा, महोत्सव गर्ने तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु आयोजना नगर्न र एम्बुलेन्स, दमकल, शब बहान, स्वास्थ्य, सुरक्षा, न्यायिक कार्य, अत्यावश्यक सरकारी सेवामा प्रयोग हुने बाहेक अन्य निजी सवारी साधनहरु र ट्याक्सी जोर विजोर प्रणाली अनुसार संचालन गर्नुपर्ने बताए । बैठकले ट्याक्सी तथा निजी सवारी साधनहरुले सिट क्षमताको आधा संख्यामा यात्रु राखी विहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र संचालन गर्नुपर्ने निर्णय गरेको छ ।

यस्तै शैक्षिक संस्था, तालिम प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना फिटनेश सेन्टर, स्पा, व्यूटी पार्लर, शैलुन, फुटपाथ पसल, घरदैलो गरी विक्रि गर्ने व्यवसाय, कवाडी संकलनहरु बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै पसलहरु विहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोल्नुपर्ने र पसलहरुले रेकी वा डोरी टाँगी विक्रेता र खरिदकर्ता बीचको दुरी कम्तीमा २ मिटरको कायम गर्नुपर्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजर लगायने वा साबुन पानीले हात धुने व्यवस्था मिलाउनुपर्ने प्रजिअ न्यौपानेले जानकारी दिए ।

बागलुङ बजारमा २ जना व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सिफारिसमा समितिले पहिलो चरणमा भदौ ९ गतेसम्म निषेधाज्ञा जारि गरेपनि त्यस समयमा संक्रमितहरु बढेकोले भदौ १५ गतेराती १२ बजेसम्म थप गरेको थियो । भदौ १५ गतेसम्म समुदायस्तरमा १४ जना संक्रमितहरु थप भएसँगै उनीहरुको सम्पर्कमा आएका थप १ सय २६ जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी रहेकोले १५ गते ४८ घण्टाको लागि निषेधाज्ञा लम्बाइएको थियो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा १ सय २६ जना मध्य १ जनाको रिपोर्ट पोजेटिभ र १ सय २५ जनाको रिपोर्ट नेगेटिभ आएसँगै निषेधाज्ञा हटाउन बागलुङ नगरपालिकाले समितिलाई सिफारिस गरेको थियो ।

Leave a Reply