कोरोनाको जोखिमसँगै म्याग्दीका एक यूवाले भर्चुअल माध्यमबाट दिवंगत पितृलाई सम्मानका श्राद्ध गरेका छन्। म्याग्दीको बेनी नगरपालिका–९,घतान घर भई हाल काठमाडौ महानगरपालिका–३ बसुन्धरा बस्ने चित्रबहादुर केसीले कोरोनाको जोखिमसँगै लकडाउनले आवतजावतमा समस्या भएपछि कलंकीमा रहेका पण्डित प्रकाश शर्मा सुबेदीको सहयोगमा करिब दुई घण्टा फेसबुक म्यासेन्जर मार्फत स्वर्गीय पिता दिलबहादुर कार्कीको श्राद्ध गरेका हुन्।

काठमाडौमा संक्रमण फैलिएसँगै जोखिमलाई मध्यनजर गरी फेसबुकबाटै धार्मिक विधिको प्रयोग गरीतर्पण र पिण्डदान गरिएको कार्कीले बताए। ‘विधि पुर्‍याएर काम गर्दा समस्या हुदैन,‘भौतिक रुपमै उपस्थिती हुने सम्भावना नभएपछि विद्युतीय माध्यमको प्रयोग गरे’ कार्कीले भने।

उनका अनुसार विधिपूर्वक गरिने श्राद्धमा पण्डित भौतिक रुपमै उपस्थित हुनुपर्ने अवस्था नभएको बताए। पाँच भाई मध्ये चित्र बाहेक सबै विदेशमा छन्। तीन दाजुभाई अमेरिका र एक दाई जापानमा रहेकाले भर्चुअल माध्यमको प्रयोग थप प्रभावकारी भएको बताए। यता पण्डित शर्माले विद्युतीय माध्यम रहर नभई विकल्प भएको बताए।

‘कोरोनबाट जोगिनुपर्ने अवस्थामा धार्मिक विधिलाई भर्चुअल माध्यमबाट प्रयोग गरेको छु,‘यसको प्रयोगले विदेशमा रहेका नेपालीलाई पनि सहज हुने देखिन्छ’ उनले भने। विदेशमा गएकालाई समय अनुकुलमा धार्मिक विधि अनुसार नै विद्युतीय माध्यम प्रयोग गर्न सकिने बताए। बुधबारदेखि सोह्र श्राद्ध शुरु भएसँगै पण्डितले विद्युतीय माध्यमबाटै श्राद्ध थालेका छन्।

यसैबीच म्याग्दीमा पण्डितले समेत जिल्ला बाहिरबाट भर्चुअल विधिको माग गरेपनि नियमित विद्युतको अभावका कारण समस्या हुने गरेको बताएका छन्। विद्युत र इन्टरनेटको समस्याले करिब दुई घण्टा लामो हुने श्राद्ध भर्चुअल विधिबाट गर्न समस्या भएको बताएका छन्।

Leave a Reply