गत असार २५ गते पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक बगाएपछि ती दुई गाउँपालिकाका हजारौं मानिसहरु भीरमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पहिरोले धौलागिरि र मालिकाका डेढ दर्जन भन्दा बढि ठाउँमा बाटो बगाएको छ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङदेखि बीम,मराङ,मुना,मलम्पार,मल्काबाङ लगाएतका गाउँमा जाने सडक पहिरोले बगाएको हो ।

बाटो नहुँदा मानिसहरु खाद्यान्नको भारी बोकेर भीरमा झुण्डिदै सास्तीपूर्ण यात्रा गर्न वाध्य भएका हुन् । मालिका गाउँपालिका ७ विमको तल्लो गाउँदेखि मराङको वेसीहुँदै मलम्पार,बेसी,मल्कावाङ पुग्ने सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको मलम्पारबाट दरवाङ आउँदै गरेका डेकबहादुर छन्त्यालले बताए ।
उनका अनुसार मलम्पारका १ सय ७० घर धुरीले ज्यान हत्केलामा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरी खाद्यान्नको जोहो गर्नुपर्ने अवस्था छ । ‘तलपट्टी वर्खेखोला र माथिपट्टि डरलाग्दो भीरको बीचमा पैताला अड्याउँदै,वुट्यान समातेर हिड्नु पर्ने अवस्था छ,मलम्पारबाट खच्चड लिएर दरवाङमा खाद्यान्न लिन जाँदै गरेका बेगवहादुर विकले भने ‘मर्ने वाँच्नेको ठेगान नै हुँदैन, एकठाउँमा होइन दर्जनौं ठाउँमा बाटै छैन ।’तल्लो विमको ठाडोखोलादेखि मराङको वेसी पारीसम्मको करिब १५ किलोमिटर सडक पहिरोले छियाछिया बनाएको छ । त्यहाँ सामान्य मर्मत गरेर सडक संचालन गर्न सकिने अवस्था नरहेको धौलागिरी गाउँपालिका ६ मराङका वडाअध्यक्ष राजाराम सुवेदीले बताए ।वडाअध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै प्रदेश सरकारसंग अनुरोध गरिएको जानकारी दिए ।

‘हाम्रो बजेटले सम्भव नै छैन,प्रदेश र संघ सरकारले ध्यान दिन आवश्यक छ’ वडाअध्यक्ष सुवेदीले भने ‘तै पनि मानिस र डोजर लगाएर मर्मतको काम गरिरहेका छौं,गाडी गुड्न सक्ने नभएपनि मानिस हिड्न सक्ने बनाउन सकिन्छ कि ।’ उनका अनुसार बाटो पैदल हिड्न लाएक बनाउनका लागि वडा कार्यालयको तर्फबाट मानिस र मेसिन लगाएर मर्मतको काम भैरहे पनि ठूल्ठूला पहरा र भीरमा काम गर्न सम्भव नभएकोले समस्या उत्पन्न भएको छ ।ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नु पर्ने अवस्था रहेको पहिरो पीडितहरुका लागि म्याग्दी समाज न्यूयोर्क अमेरिकाले पठाएको सहयोग रकम हस्तान्तरण गर्न मराङ पुग्नु भएका पूर्णवहादुर पुनले बताए ।‘ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नु पर्ने अवस्था रहेछ’ मराङका पहिरो पीडितहरुलाई ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम प्रदान गर्दै म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पुनले भने ‘हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ,सधैंभरी ओहोर दोहोर गरिरहनु पर्ने यहाँका स्थानीयलाई कति समस्या होला ।’

उता मालिका गाउँपालिका ७ विममा पुग्ने सडकको भने मर्मत भैरहेको विमका वडाअध्यक्ष रेशम जुग्जालीले बताए । उनका अनुसार १०÷१५ दिन भित्रमा सडक मर्मतको काम सम्पन्न हुने छ ।

असार २५ गते राती गएको पहिरोले मराङमा १९ जनाको ज्यान गएको छ भने २ जना अझै वेपत्ता छन् । त्यसैगरी विममा सोही राती आएको पहिरोमा परि ९ जनाको ज्यान गएको छ । असार २५ गते म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा मराङ र विमका साथै धारापानी,ताकम,देविस्थान,कल्लेनी लगाएतका धेरै ठाउँमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

Leave a Reply