म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको फगाम गाउँका कर्णबहादुर नेपालीको १० रोपनी खेतीयोग्य जमिनसहित घर पहिरोले बगायो। पहिरोले खेतबारी चिराचिरा पारेपछि छिमेकीकोमा आश्रय लिन पुगे। नेपालीको अहिले एक टुक्रा जग्गा र एउटा छाप्रो समेत छैन।

सुन्तला, तरकारी खेतीबाट घरखर्च चलाउने गरेका उनले ३ वर्षमा दुई वटा घर नै पहिरोमा बगेपछि बेनी–जोमसोम सडक खण्ड नजिकै रहेको एउटा छाप्रोमा दिन बिताइरहेका छन्। उनको जस्तै देउमाया मिजारको पीडा त्यस्तै छ। सम्पत्तीको नाममा भएको केही जमिन र सानो ब्लकको घर जमिन भासिएर भत्किएपछि देवरको घरमा बस्दै आएकी छन्।

पतीको मृत्यु र छोराले समेत बेवास्ता गरेपछि एक्लै चर्किएको घरमा बस्दै आएकी मिजारलाई स्थानीयले सुरक्षित स्थानमा सारेका थिए।

भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट विस्तार गरिएको बेनी–जोमसामे सडकखण्ड भासिएर फगाम गाउँका ७४ मध्ये १४ घरधुरी पूर्णरूपमा विस्थापित भएका छन्।

‘सम्पत्तीको नाममा पहिरोले भत्काएको जमिन बाहेक केही छैन। खेती गर्ने एक टुक्रा जमिन छैन,’ बृद्ध नेपालीले भने। बस्ती नजिकैबाट विस्तार गरिएको सडकका कारण जमिन भासिएको र चिराचिरा परेको उनले बताए।

जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा बाली लगाउन छाडेको नेपालीको भनाइ छ। पहिरोले स्थानीयलाई सुकुम्बासी जस्तै बनाएको छ। पहिरोले स्थानीयको घरका साथै जमिन चिराचिरा पारेपछि गाउँको माथिल्लो स्थानमा रहेको कालिगण्डकी करिडोर २२० केभिएको टावर नजिकै छाप्रो बनाएर बसेका छन्।

‘जतिबेला पनि पहिरोले बगाउन सक्ने भएकाले घर छाडेर खुल्ला स्थानमा बसेका छौं,’ स्थानीय ठकबहादुरले भने, ‘वर्षाैं दुःख गरेर बनाएको घरबारी पहिरोले बनाइदियो अहिले खुल्ला चौरमा बस्नुपर्ने बाध्यता अयो।’

उनले आफ्नो १२ जनाको परिवारलाई राख्ने ठाउँ समेत नभएको बताए। पहिरोले स्थानीय सेती बराही बालशिक्षा विद्यालयको भवन समेत भत्किएको छ।

वृद्धवृद्धा, बालबालिकालाई खुल्लाचौरमा राख्दा बिरामी हुने समस्या रहेको स्थानीयको भनाइ छ। बस्तीको खेतबारी र वन जंगल गरी सयौं रोपनी जमिन चिराचिरा परेर तीन मिटरको गहिराइसम्म फाटेको गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुनले बताए। ‘बस्ती बस्ने लायकको छैन, सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खोज्दै छौं,’ उनले भने। जमिन भासिने र फाट्ने भएपछि सुन्तलाको प्रख्यात मानिने फगाम गाउँवासी त्रसित भएको उनले बताए। ‘एउटा घर बनाउन जमिन दानको अपिल गरेको छु,’ उनले भने, ‘छिमेकी गाउँमा सुरक्षित जग्गाको खोजी भइरहेको छ।’

गाउँपालिकाले भूगर्भविद् ल्याएर परीक्षण गर्न र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरेको छ। विस्तारै तल्लो हुँदै माथिल्लो गाउँको खेतबारी, सडक आसपासका क्षेत्र समेत भासिएकाले माथिल्लो क्षेत्रबाट समेत पहिरो खस्न सक्ने जोखिमले रहेको छ।

फगाम गाउँ सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छ। स्थानीयले वार्षिक सुनताला बिक्रीबाट लाखौंको आम्दानी गर्दै आएक ाथिए।

यसका साथै यहाँ तरकारी खेतीका लागि राम्रो पहिचान बनाएको थियो। पहिरो पीडितलाई म्याग्दी समाज न्युर्योक अमेरिकाले २ लाख, शिख्तानी समाजलगायत विभिन्न संघसंस्थाले समेत आर्थिक सहयोग गरेका छन्। म्याग्दीको ६ वटै स्थानीय तहका विभिन्न ठाउँ बाढीपहिरोको जोखिममा रहेको स्थानीयको भनाइ छ।

Leave a Reply