नेपाल राहत शिक्षक समिति म्याग्दीले शिक्षक दरबन्दी मिलानको कार्य तत्काल रोक्न माग गदैं ज्ञापन पत्र बुझाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमको त्रासका बिच घुमाउरो तरिकाले राहत शिक्षकलाई अपमान गदैं अनुदान शिक्षकलाई दरबन्दी मिलानमा सहभागी गराउन खोजिएको भन्दै प्रक्रिया रोक्न शिक्षा विकास तथा समन्वय इकाई, बेनी नगरपालिका सहित सबै गाउँपालिका समक्ष माग गरिएको छ ।

राहत शिक्षक समिति म्याग्दीका अध्यक्ष देवराज शर्माले दरबन्दी मिलानमा नियुक्ती पत्रलाई प्रमुख आधार बनाए मात्रै शिक्षकको सम्मान र समस्या समाधान हुने बताउनुभयो ।

‘राहत शिक्षकलाई राज्यले दोस्रो दर्जाको शिक्षक सरह हेर्ने प्रबृत्ति रोकिएको छैन्,‘गुणस्तरीय शिक्षाका लागि राहतको योगदान कमजोर छैन’ शर्माले भन्नुभयो ।

उहाँले कोरोनाको जोखिममा शिक्षक आन्दोलन नहुने भन्दै विना आधारमा शिक्षा क्षेत्र नै ध्वस्त बनाउने गरी दरबन्दी मिलानको प्रक्रिया अगाडी बढाइएको समेत बताउनुभयो । म्याग्दीमा सामुदायिक विद्यालयमा २ सय ५५ राहत शिक्षक कार्यरत छन् ।

सामुदायिक विद्यालयको अंग्रेजी, गणित, विज्ञान लगायतका प्रमुख विषयमा राहत शिक्षकको मेहनतले समेत विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवस्थामा अपमान गरिएमा कडा आन्दोलनको चेतावनी दिइएको समितिका सचिव सन्तोष सुबेदीले जानकारी दिनुभयो।

‘महामारीमा लुकेर शिक्षकलाई प्रहार गर्न खोजिएको छ,‘यो अवस्थामा प्रक्रिया अगाडी बढाउनु नै गलत छ’ सुबेदीले भन्नुभयो ।

ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा र बेनी नगरपालिकाका शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी र अधिकृत अर्जुन पौडेलले राहत शिक्षकको मागलाई माथिल्लो तहमा जानकारी गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply