हिउँदमा साह्रै नै सानो अनि वर्षायाममा पनि खासै ठूलो नहुने भुजीखोला किनारका घरका बासिन्दा बाह्रैमास ढुक्कले निदाउँथे, बुधबार राति पनि ढुक्कले निदाए। तर बागलुङ, ढोरपाटन नगरपालिकास्थित उक्त खोलामा बुधबार मध्यरातमा भने ठूलो बाढी आउँदा मस्त निद्रामा रहेका गाउँले ऐयासमेत भन्न नपाउँदै भेलसँगै बग्न पुगे।

तीमध्ये केहीले ज्यानै फाले भने अझै धेरै बासिन्दा सम्पर्कविहीन छन्। बागलुङ प्रहरीका अनुसार अहिलेसम्म ५ पुरुष र ९ महिलासहित १४ जनाको शव भेटिएको छ भने ३८ जना सम्पर्कविहीनको सूचीमा छन्। भुजीखोलामा आएको भीषण बाढीले तटीय क्षेत्रका घर बगाउँदा सोच्दै नसोचेको मानवीय क्षति भोग्नुपरेको स्थानीयले बताएका छन्।

नगरप्रमुख देवकुमार नेपालीले ठूलो मानवीय क्षतिसँगै १ सय ३० घर बगेको बताए। ‘पहिरोले १ सय ३० घर बगाएको छ। कतिपय घर त नामैनिसान नरहनेगरी बगेका छन्,’ उनले भने। बागलुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार भेटिएका शवमध्ये साँझ अबेरसम्म २६ वर्षीया केशमाया विकको मात्रै सनाखत भएको छ। बेपत्ता अरू स्थानीयको खोजी भइरहेको उनले बताए। ‘मृतकको संख्या अझै बढ्ने अनुमान छ,’ उनले भने। चारजना घाइतेलाई उद्धार गरेर उपचारार्थ पठाइएको उनले बताए।

चारवटा लघुजलविद्युत् आयोजना, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राविका भवन पनि बगाएको स्थानीयले बताए। स्थानीयका अनुसार राति ११ बजेतिर खोलाको सिरान क्षेत्रमा ठूलो वर्षा भएपछि बाढी आएको हो। बाढीले ढोरपाटन नगरपालिकाका ५, ६, ७, ८ र ९ नम्बर वडामा क्षति पु¥याएको छ। ‘बागलुङको पहिरोमा बगेका व्यक्ति गुल्मीमा फेला परेको समेत सूचना आएको छ’, डिएसपी रेग्मीले भने।

घटनास्थल पुगेका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले हराएका स्थानीयलाई भेटाउन सहज नभएको बताए। खोलाले खोला किनारबाट सय मिटर दायाँबायाँका घर बगाएको उनले जानकारी दिए। उनले भने, ‘रातको समय भएकोले स्थानीय बाहिर निस्कन सकेनन। त्यसले गर्दा बढी क्षति भयो।’

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलका अनुसार ढोरपाटन–९ को देउरालीमा पहिरो झरेको थियो। त्यो पहिरो भुजीखोलामा मिसिएको थियो। सिरान क्षेत्रमा ठूलो वर्षा भएको र तल पहिरो खोलामा मिसिँदा झनै ठूलो आकार लिएको उनले बताए। पोखरेलका अनुसार पहिरोले केही बेर खोला थुनेको अनुमान छ। थुनिएको खोला फुट्दा बाढीको रूप लिएको हुनसक्ने उनले बताए। बाढीले करिब २५ किलोमिटर तलसम्मका खोलाकिनारका बस्ती बगाएको उनले जानकारी दिए। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार ढोरपाटनको बोबाङ स्टेसनमा गत राति ४० मिलिमिटर वर्षा मापन भएको थियो। अघिल्लो दिन पनि त्यति नै वर्षा रेकर्ड भएको थियो। भूगर्भविद् श्रीकमल द्विवेदीले करिब ६ घण्टा त्यस क्षेत्रमा पानी परेको बताए।

बाढीको क्षति अवलोकनका लागि काठमाडौंबाट आएका गृहमन्त्री रामबहादुर थापासहितको टोली पहिरो प्रभावित क्षेत्र नजिक पुगे पनि मौसमको खराबीले हेलिकोप्टर अवतरण गर्न नसक्दा पोखरा फर्केको थियो। पोखरा विमास्थलका अनुसार स्याङ्जाको आकाश हुँदै सेनाको हेलिकोप्टरमा गएका गृहमन्त्री मौसमको खराबीले फर्केर केही बेर पोखरा विमानस्थलमा बसेका थिए। गृहमन्त्री सवार हेलिकोप्टर पछि काठमाडौं फर्केको थियो।

Leave a Reply