म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँ घर भई हाल पोखराको बिरौटामा बस्दै आएकी ७ वर्षीया प्रेन्सा रेग्मीले फूड बैंक (प्रेन्साको भोक उपचार केन्द्र) संचालनमा ल्याएकी छन् । लकडाउनको अवधिमा मास्क लगायत विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी चर्चा कमाएकी रेग्मीले ‘सकिन्छ दिएर जाऔं, सकिँदैन लिएर जाऔं’ नाराका साथ अभियानको सुरुवात गरेकी हुन् ।

पोखरा–१७, बिरौटास्थित चोकमा गत बुधबारदेखि सो फूड बैंक संचालनमा ल्याएपछि उनलाई विभिन्न स्थानबाट सहयोगको प्रतिबद्धता समेत आउन थालेको छ ।

कोरोना महामारीका कारण लामो समय बन्दाबन्दी हुँदा आर्थिक स्थिति विपन्न भएका वर्गहरुको हितको लागि खानेकुरा उपलब्ध गराउँदै आएको उनका बुवा रामकृष्ण रेग्मीले जानकारी दिए। उनका अनुसार पे्रन्साले २२ जनालाई साबुन, चामल, तेल, नुन, दाल साथमा मास्क लगायत राहत सामग्री वितरण गरेकी छन् ।

‘सानोसानो सहयोग आउन थालेको छ,‘यो समयमा भएको दिने, नभएकाले लैजाने हो’ प्रेन्साले भनिन् । उनले आफ्नो अभियानमा स्वदेश तथा विदेशबाट नियमित सम्पर्कमा आउनेहरुबाट समेत सहयोगको प्रतिबद्धता जनाएको बताईन् । मास्कको प्रयोग, कोरोना सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमबाट निकै चर्चामा आएकी रेग्मीको नयाँ अभियानमा समेत धेरैले साथ दिएका छन् ।

प्रेन्साले खाना खान नपाई भोकै रहेकाहरुलाई सहयोगका अलावा आफू जस्तै साना उमेरक विद्यार्थीलाई कापी, कलम, पेन्सिल, कटर लगायत गरी स्टेशनरी सेट पनि निःशुल्क उपलब्ध गराउँदै आएकी छन् । सानो उमेरमा पनि सामाजिक क्रियाकलापमा संलग्न उनको सहयोगी भावनाको सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ । शिशु निकेतनमा पढ्ने प्रेन्सा त्यही स्टेशनरी नजिक बसेर राहत बाँड्छिन् भने बाबुआमाले बिरौटामै नमस्ते पोखरा स्टेशनरी चलाउँछन् । तस्वीर सौजन्य आर्दश समाज पोखरा 

Leave a Reply