पछिल्लो समय बढ्दो शहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्न र स्वस्थ जीवनयापनका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण भएको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिलमा हरियाली पार्क निर्माण गरिएको हो ।

शहरी क्षेत्रको बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यले हरियाली पार्क निर्माणको अवधारण अगाडि सारिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

लभ्लीहिलमा पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठनागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल विरुवाहरु रोपिएको छ ।

सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्न पार्क निर्माणको कार्यलाई अगाडि बढाइएको हो ।

म्याग्दी जिल्लाको विभिन्न स्थानमा रहेका सामुदायिक वन अन्तर्गतका खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली पार्क निर्माण गरिएको जनाइएको छ । लभ्लीहिलमा रहेको हरियाली पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने तथा धेरै अग्लो नहुने खालका बिरुवाहरु रोपिएको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

उक्त कार्यक्रम र बजेटअनुसार बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख र मंगला–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई १८ लाख रुपैयाँ पार्क निर्माणमा विनियोजन गरिएको थियो । अहिले ती दुईवटै स्थानमा पार्क निर्माण गरिएको छ ।

बदलिँदो वातावरणसँगै शहरी कोलाहलबाट मुक्त हुन र स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको बताइएको छ ।

कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैंचा बनाउने, बोटविरुवा रोप्ने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ विरुवाहरु लगाउने, बस्न मिल्ने ठाउँ बनाई विस्तारै हरियाली पार्कमा रुपान्तरण गर्ने योजना थियो ।

यसैबीच मंगला गाउँपालिकाले गत आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बाबियाचौर स्थायी घरभई हाल काठमाडौं निवासी क्या. ईन्द्रबहादुर अधिकारीले करिब ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि इन्द्रेणी पार्क निर्माण गरी त्यसमा दुबो, धुपीलगायत सुगन्धवाल फुलका विरुवाहरु रोपिएको छ ।

Leave a Reply