कोरोनाको कहर । घरभित्रै बस्नुपर्ने अवस्था । घरभित्र रहँदा वा बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ ।

घरभित्रै बसिरहँदा पनि अल्छी लाग्छ र मानसिक तनाव समेत हुन सक्छ । लकडाउनमा घर बाहिर निस्कन नपाउँदा मानिसहरु आजित बनेका छन् । यही आजित मेट्नका लागि उनीहरुलाई ‘फ्रेस’ हुने ठाउँ चाहिएको छ । ती ठाउँहरु हुन् पर्यटकीयस्थल, झरना, पदमार्ग, वनजङ्गल, रिसोर्ट, हरियाली क्षेत्र आदि ।

तिनै पर्यटकीय स्थलहरुमध्यको एक हो हिमाली जिल्ला म्याग्दीमा लकडाउनको समयमा चर्चामा आएको कोप्रे झरना । नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।

भकिम्लीको दुधेखोला नजिकै अवस्थित कोप्रे झरनामा पछिल्लो समय दैनिकजसो रुपमा पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयबासीले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकहरुको घुइँचो नै लाग्ने गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि झण्डै एक घण्टाको दूरीमा रहेको झरनामा हिजोआज पर्यटकको चहलपहल ह्वात्तै बढेको स्थानीयबासी बताउँछन् ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै रहेको झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु पुग्ने गरेका छन् । कोप्रे झरना भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना समेत भनेर चिन्ने गर्दछन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित उनीहरु एकैछिन भए पनि रमाउन कोप्रे झरना पुग्छन् ।

बेनपा–३, भकिम्लीका वडा अध्यक्ष पदम पुनका अनुसार कोप्रे छहरामा पहिल्यैदेखि नै मानिसहरु जाने गर्थे । खासगरी कोप्रे छहरामा भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु घुम्न, फोटो खिच्न र रमाउन जान्थे ।

विगतदेखि नै मानिसको चहलपहल हुने झरनामा अहिले कोरोना भाइरसका कारण जारी लकडाउनको बीचमा घुम्नेहरुको संख्या बढेको हो । बेनीबजारबाट कोप्रे झरना घुम्न आउँदा आफूले आनन्दको महसुस गर्न पाएको आन्तरिक पर्यटक सितल कार्कीले बताउनुभयो ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा ठूलो हुन्छ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’को समेत नामाकरण गरेको सुन्न पाइन्छ । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर लाग्छ । घाम लागेको दिउँसोको समयमा इन्द्रेणी समेत पार्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहेको छ ।

कोप्रे झरनाको भ्रमणमा निस्कनुभएका बेनीका युवा व्यवसायी सन्दीप खत्रीले सदरमुकामको नजिकमा भएर पनि ओझेलमा परेको झरना कोभिड–१९ का कारण प्रचारप्रसारमा आएको बताउनुभयो । उहाँले झरनामा आएर परिवारसहित रमाउन पाउँदा निकै रमाइलोको अनुभूति मिलेको अनुभव समेत सुनाउनुभयो ।

अहिले कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली लगायतका क्षेत्रबाट प्रायः पर्यटकहरु घुम्न जाने गर्दछन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटीहरु धेरै जाने गर्छन् । झरनामा आजभोली दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रुपमा विकास गर्नका लागि सम्बन्धित वडा कार्यालय र नगरपालिकाबाट आवश्यक पहल गर्ने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बताउनुभयो ।

Leave a Reply