लायन्स क्लब इन्टरनेशनल ३२५ बी वानले बागलुङ र म्याग्दीका बाढीपहिरोपीडितलाई राहत सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन (एलसिआईएफ) द्वारा प्राप्त इमर्जेन्सी ग्रयान्टअन्तर्गत हालै बागलुङको ढोरपाटन तथा असारमा म्याग्दीका विभिन्न भागमा भएको बाढीपहिरोका कारण पीडितहरुलाई सो सामग्री वितरण गरिने भएको हो ।

इमर्जेन्सी ग्रान्ट कमिटी संयोजक एवं लायन्सका पब्लिक रिलेसन अफिसर (पिआरओ) इन चिफ राम बसेलका अनुसार दुई जिल्लाका गरी १ सय ६० घरपरिवारलाई सो सामग्री प्रदान गर्न म्याग्दी र बागलुङका सम्बन्धित लायन्स क्लबहरुलाई शनिबार राहत सामग्री पठाइएको छ ।

तीमध्ये बागलुङका ८० र म्याग्दीका ८० घरपरिवालाई प्रतिपरिवार त्रिपाल–१, म्याट्रेस–१, ब्लाङ्केट–१, चामल–१ बोरा, दाल, गेडागुडी, तेल, नून लगायत सामग्री सोमबारसम्म वितरण गरिने कार्यक्रम छ ।

राहत वितरणमा बागलुङ र म्याग्दीका लायन्स क्लबहरुले आवश्यक समन्वय गर्ने बसेलले जानकारी दिए ।बागलुङको ढोरपाटन– वडा ९ मा बुधबार राति गएको बाढीपहिरोका कारण १५ जनाको शव भेटिएको छ भने २७ जना बेपत्ताको खोजी भइरहेको छ ।

त्यस्तै, म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा गएको असार २६ गते राति गएको भीषण पहिरोमा परी ३१ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।

Leave a Reply