कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी म्याग्दीका ट्याक्सी चालकलाई एन–९५ मास्क, ग्लोब, सेनिटाईजर र ‘फेस शिल्ड’ वितरण गरेको छ । बेनी यातायात प्रालिले आइतबार विहान कालिपुलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा वितरण गरिएको हो ।

साम्रागी वितरणको अवसरमा बोल्दै प्रजिअ अधिकारीले ट्याक्सीका चालकलाई यात्रु बोक्ने क्रममा दुवैतर्फबाट संक्रमणको जोखिम रहेकाले वितरण गरिएका साम्रागीको अनिवार्य प्रयोग गर्ने अनुरोध गर्नुभयो ।

त्यस्तै प्रनाउ कुँवरले अन्तरजिल्ला यात्राको क्रममा जोखिम उच्च भएकाले जिल्लाभित्र फर्किएपछि अनिवार्य होम क्वारेन्टाइनमा बस्न आवश्यक सहयोग गर्न प्रालिलाई अनुरोध गर्नुभएको थियो।

प्रालि अन्तरगत सञ्चालित १ सय ६० ट्याक्सीका चालकलाई प्रति चालक करिब १ हजार बराबरको साम्रागी उपलब्ध गराइएको महासचिव भोजबहादुर थापाले जानकारी दिनुभयो ।

अन्तर जिल्ला आवतजावत गर्दा सार्वजनिक सवारीसाधनका चालकबाटै कोरोना संक्रमणको जोखिम समेत रहेकाले आवश्यक सावधानी अपनाउन भविस्यमा पनि निरन्तर चालकलाई आवश्यक साम्रागी सहित सुरक्षा गतिविधिका बारेमा जानकारी गराउने प्रालिका अध्यक्ष टिकप्रसाद पुर्जाले बताउनुभयो ।

Leave a Reply