म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगाबाट दृष्यअवलोकन गर्ने स्थल भत्किएको छ ।

आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको बेलढुंगाको गएराती करिब ९ बजेतिर भत्किएपछि स्थानीयले स्थलगत अवलोकन गरेका छन् ।

‘चट्टान फुटेर काम नलाग्ने भएको छ,‘अव मर्मत गरेमा धेरै पर्यटक बस्न मिल्ने बन्छ’ स्वर्गाआश्रम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले भन्नुभयो ।

बि.स २०७२ बैशाखको महाविनाशकारी भूकम्पबाट समेत जोगिएको चट्टालाई केन्द्रित गरी भकिम्ली र बागलुङको धम्जा विच बेलढुङ्गामा विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको थियो ।

अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुने गरेको अवस्थामा सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि आन्तरिक पर्यटकको समेत घुईचो लाग्ने गरेको थियो ।

मुख्य दृश्य अवलोकन गर्ने ढुंगा भत्किएपछि बेनपा–३ भकिम्लीका अध्यक्ष पदम पुन, काठेखोला गाउँपालिका-३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले नयाँ संरचना सहित थप आर्कषक बनाउने बताउनुभएको भकिम्लीका स्थानीय यूवा कृष्ण थापाले जानकारी दिनुभयो ।

बेलढुंगासम्म पुग्ने सडक सञ्जाल, पदमार्ग सहित सामुदायिक भवन, प्रतिक्षालय लगाएतका संरचना बनाउने काम भइरहेको छ । बेलढुङ्गाको शिखरमा भ्यूटावर निर्माण गर्ने योजना रहेकाले मुख्य दृष्यअवलोकन गर्ने स्थान भत्किएपनि थप पूर्वाधार बनाउन कुनै समस्या नभएको स्थानीयको भनाई छ । समुद्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला,म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य,साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु,बनजङ्गल,जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ ।

बेलढुङ्गा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान मानिन्छ । भकिम्लीको स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्ने मार्ग समेत निकै आर्कषक बनिरहेको थियो।

Leave a Reply