A road near Beni Bazaar at risk due to erosion caused by the flooded Kaligandaki River, in Myagdi, on Thursday, September 13, 2018. Photo: THT

वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावि खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृति स्रोतको विनास हुनेक्रम बढ्दै गएको छ । प्रकृतिमाथि मानिसको चरम दोहन र वर्वरता बढ्दै जाँदा मानिस आँफै संकटको भूमरीमा फस्दै गएको भएपनि प्रकृति मास्न मानिसले अझै प्रविधिको समेत प्रयोग बढाउँदै गएको वातावरणवीद्हरुले बताएका छन्।

म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक,चुनावी प्रतिवद्धता तथा स्थानीयको मागका नाममा धमाधम सडक विस्तार भै रहेको छ । यसरी सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्याङ्कन गरिन्छ न त दक्ष प्राविधिकको राय लिइन्छ ।

केही जनप्रतिनिधि र गाउँका केही टाँठावाठा भनिएका व्यक्तिहरुको लहडमा खनिएका यस्ता सडक नै मानिसहरुको मृत्युका कारण बनेका छन् भने प्राकृतिक स्रोतहरुको विनासका माध्यम पनि बनेका छन् ।

पश्चिम र उत्तरी म्याग्दीमा गत असार यता गएका पहिरो र भएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावि खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेको व्यक्तिहरुको भनाइ रहेको छ ।

म्याग्दीको भूगोल,वन तथा वातावरण क्षेत्रका जानकार,वातावरणविद् चन्द्रमणी सापकोटाका अनुसार दीगो विकासका न्यूनतम मापदण्डहरु पनि पालन नगरी हेभि इक्युभमेन्ट (२÷३ सय सिसी क्षमताको डोजर) को प्रयोग सडक खनिदा वर्षेनी बाढी र पहिरोको प्रकोप बढ्दै गएको हो ।

वातावरणविद् सापकोटाले भन्नुभयो‘मानवीय क्रियाकलाप नै बाढी पहिरोको प्रमुख कारण हो,यो संगै यहाँको भूगोल पनि अत्यन्त कमजोर हुनु,भीरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।

सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भएपनि निर्माण गर्दा केही निश्चित सर्तहरु पालना गर्नै पर्छ । ग्रामिण क्षेत्रका अधिकाँश भूभागहरु भिरालो भएकोले त्यहाँ सडक खन्दा साना र हलुका इक्युभमेन्टको प्रयोग गर्नु पर्दछ । तर सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभि इक्युभमेन्ट प्रयोग गर्दा त्यसले जमिन खल्बलाइ दिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।

त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षरोपण गर्ने ,फिलिङ गर्ने,सडकको कटिङ गर्दा प्राविधिक सल्लाहा लिने गर्नु पर्दछ । तर,म्याग्दीका ग्रामिण सडकहरुमा न्यूनतम मापदण्ड पनि पुरा नगरिएको उहाँको भनाइरहेको छ ।

त्यस्तै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीनवटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकोले यहाँको माटो बलौटे हुँदा बाढी र पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो ।
उहाँले जथाभावि खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनास भएता पनि म्याग्दीको हकमा भने बन क्षेत्र नघटेको र यसले वनपैदावर र जंगली जनावरलाई क्षति नपुगेको तर्क गर्नुभयो ।

वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामिण क्षेत्रमा कृषि,जडिबुटी,बुट्यान र रुखहरु विना प्रयोजन नष्ट गरिएको उहाँको भनाइ थियो । त्यसैगरी जैविक विविधतामा ह्रास आउनुका साथै प्रविधिको प्रयोग गरी खनिएका सडकहरुमा वातावरणीय अध्ययन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।,

त्यसैगरी वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भिरालो भूगोल, कमजोर भूबनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारणहरु क्षतिका कारकहरु भएका बताउनुभयो ।

उहाँले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्यहरु, वनजंगलको विनास, जनचेतनाको कमी आदि मानवीय कारणहरु समेतले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक बर्ष बाढी र पहिरोको चपेटामा परी सयौंको ज्यान जाने र अरबौंको भौतिक पूर्वाधार तथा सम्पत्तिको क्षति हुँदै आएको छ भन्नुभयो ।

वातावरणवीद्हरुका अनुसार प्रविधिको प्रहारले प्रकृति छियाछिया भएको छ । जसले गर्दा ग्रामिण वस्तीहरु उच्च जोखिममा परेका छन् भने मानिसले जानीजानी आफ्ने विनाश आँफै निम्त्याइरहेको छ ।

उता राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडक अन्तर्गत बेनी-जोमसोम जोड्ने ७६ किमी सडकका कारण मुस्ताङ खण्डमा पर्ने थासाङ गाउपालिका ३ र ४ वडामा वनसम्पदा बिनास भएको पाइएको छ । बेनी-जोमसोम सडकको डिजाइन प्रविधिमैत्री हुन नसक्दा प्राकृतिक स्रोतसाधनको विनास भएको पाइएको हो ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । त्यससमय आयोजनाका इन्जिनियर र प्राविधिकहरुको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी-जोमसोम सडकको विभिन्न स्थानमा बर्सेनि बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनु पर्ने हुन्छ ।

बेनी-जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढी, पहिरो र नदी कटानले वनजंगलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले वताउनुभयो । file photo

Leave a Reply