म्याग्दीको मंगला गाउँपालिका-५अर्मन सिर्कुमका दलबहादुर कामीको परिवार विस्थापित जिवन विताइरहेका छन् । पारीपट्टी उर्लिएको दुखु खोलाको बाहबसँगै म्याग्दी खोलाले धार परिवर्तन गरेपछि बगर नजिकै रहेको सानो छाप्रो बगाइदिएपछि छिमेकीको घरमा बस्दै आएका कामीले एउटा घरको आवश्यकता रहेको बताए ।

गएको असार महिनाको २६ गते विहान उर्लिएको म्याग्दी खोलाको कटानले घर भएको ठाउँको नाम निसाना समेत मेटिने गरी बगाएपछि सहयोगको याचना गरेका छन् । ‘घर मात्रै पुरेन, जीवन भर दुःख गरेर जम्मा गरेको सम्पति र अन्नपात पनि बगायो,‘घरभित्रको धान पोका पादै थिए खोलाले झन्डै बगाएन’ कामीले भने ।

सुकुम्बासी जस्तै जिवन विताइरहेको अवस्थामा म्याग्दी खोलाको कटानले भएको सम्पत्ती, खाद्यान्न, लत्ताकपडा समेत बगाएर नष्ट गरेको बताए । घरभित्रका सबै सामान जोगाउन खोजेपनि सफल हुन नसकेको बताए।उनले भोकभोकै बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै घरभित्र रहेको धानलाई सुरक्षित स्थानमा लैजान खोज्दा समेत सफल हुन नसकेको बताए।

सोमबार म्याग्दी समाज न्यूयोर्क अमेरिकाले उपलब्ध गराएको २५ हजार नगद बुझ्न गाउँपालिकाको केन्द्र बावियाचौरमा आइपुगेका कामीले बाढीपहिरोले समेत असर नगर्ने फलामको घर चाहिएको बताए ।

‘हामी सुत्ने ठाउँमा म्याग्दी खोला बगेको छ,‘गाउँमै एउटा फलामको घर चाहियो’ कामीले भने ।ढुंगामाटोको घर भत्किने जोखिम भएकाले फलामको प्रयोग गरी घर बनाउने चाहना अनुगमनमा पुगेको बेलामा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकासँग ब्यक्त गरेका थिए ।

उनले आफ्नो घर भएको स्थानमा म्याग्दी खोला बगेको समेत अनुगमन टोलीलाई देखाएका थिए । उनले गाउँपालिका अध्यक्ष रोका, उपाध्यक्ष र्सिजना केसी, म्याग्दी समाज न्यूर्योक अमेरिकाका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनलाई आफ्नो समस्या सुनाउँदै सहयोग रकमलाई सदुपयोग गर्ने बाचा समेत गरे।

श्रीमति सहित चारजनाको परिवारलाई समान्य काम गरेर गुजरा चलाउँदै आएका कामीलाई वडाबाट समेत आवश्यक सहयोग भइरहेको वडा अध्यक्ष भुपेन्द्र बहादुर केसीले बताए । उनका अनुसार वडाभित्र अर्मनमा ३ घर, किमचौर १ र सिर्कुममा १ घर परिवारले विस्थापित जिवन विताइरहेका छन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा पुर्नवास सहितको अभियान सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply