पाँच दिनको नवजात शिशुलाई काखमा च्यापेर रातको समयमा पहिरो छिचोल्दै ज्यान बचाउन सफल म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङको राम्चे गाउँकी सविना विश्वकर्माले राहत भन्दा पनि यथासिघ्र पुर्नवासको व्यवस्था गरिदिन सरोकारवालाहरुसंग माग गरेकी छन् ।
पहिरोमा ४ सन्तान गुमाएकी मराङकै चनमति लामगाडेले खाने गास जुटेपनि बस्ने वासको अभावमा ठूलो सास्ती खेप्नु परेको बताइन् । पुनर्वासको माग विश्वकर्मा र लामगाडेको मात्रै होइन गत असार २५ गते राती आएको भिषण पहिरोमा आफन्तजन र भएको धन गुमाइ अहिले पाल टागेको टहरो र आफन्तकोमा वस्दै आएका पश्चिम म्याग्दीका ७० जनाभन्दा बढी पहिरो पीडितहरुको सामुहिक माग हो ।
पहिरो गएको दुई महिना हुनै लाग्दा पनि मराङ र बिमका पहिरो पीडितहरुको पुर्नवासको प्रवन्ध हुन सकेको छैन । स्थानीय तह,प्रदेश सरकार,जिल्ला भित्रका संघ संस्था, परोपकारी व्यक्ति र मनकारी प्रवासी म्याग्देलीहरुको सहयोगमा उनीहरुलाई खान र लगाउनको समस्या नभएपनि व्यवस्थित वस्ने वास नहुँदा राहतवापत पाएको नगद र खाद्यान्नले मात्र बाढी पहिरो पीडितहरुले चित्त बुझाउन सकेका छैनन् ।
असार २५ गते राती आएको पहिरोमा परी २१ जनाले ज्यान गुमाएका धवलागिरि गाउँपालिकाको वडा नं ६ मराङ गाउँका वासिन्दाहरुको आँखा अहिलेसम्म पनि ओभाउन सकेका छैनन् ।
म्याग्दी समाज न्यूयोर्कले उपलब्ध गराएको सहयोग रकम बुझन मराङको बेसी आएका मराङ रिखका धनवहादुर जुग्जालीले विपद्को समयमा मनकारी व्यक्ति,संघसंस्था र सरकारले राहत रकम र सामाग्री उपलव्ध गराएको तर अझसम्म पनि टहरो र खुला स्थानमा पहिरो पीडितहरु बस्न बाध्य भएको बताउँदै यथासिघ्र वासको व्यवस्था गरिदिन सम्वन्धित सरोकारवालाहरुलाई अनुरोध गरे ।
त्यस्तै म्याग्दी समाज न्यूयोर्क अमेरिकाले अपलव्ध गराएको रु ५० हजार नगर बुझेपछि पहिरोमा ४ सन्तान गुमाएकी मराङ राम्चेकी चनमति लामगाडेले खाने र आउने कुराले भन्दा वस्ने वासको अभावमा पहिरो पीडितहरु छट्पटाइरहेका वताउँदै जाडो,वर्षा र हिउँबाट बच्न एउटा वासको व्यवस्था गरिदिन सरोकारवालाहरुसंग अनुरोध गरिन् ।
अहिले सम्म पनि मराङ र बिमका पहिरो पीडितहरुका गहमा आशुँ टिल्पिलाइरहेका छन् । परिवारजन र चल,अचल धन एकै चोटी गुमाउन पुगेका उनीहरु सुकुम्वासी बनेका छन् । कतिपयको त घरबनाउने घडेरी समेत छैन । भएको सवै जायजेथा पहिरोले बगाए पछि सरकार र मनकारी संघसंस्था तथा व्यक्तिहरुकै भरमा पहिरोबाट बँचेको परिवारको भविष्य सुरक्षित गर्न खोजिरहेका छन् पहिरो पीडितहरु ।
धवलागिरी गाउँपालिकाको मराङ,ताकम र धापानी, मालिका गाउँपालिकाको देविस्थान र विमका पहिरो पीडितहरुका लागि स्थानीय,प्रदेश र संघीय सरकारबाट अहिलेसम्म राहत रकम र सामाग्री वाहेक पुर्नवासको विषयमा खासै पहल हुन नसकेको पीडितहरुले बताएका छन् ।
‘अब जाडो सुरु हुन थाल्यो,पुस माघ तिर यहाँ हिउँ पर्छ,त्यतिन्जेलसम्म पनि वासको व्यवस्था भएन भने हामी त जाडोले कठ्याङ्ग्रियर नै मर्छौं’ धवलागिरि गाउँपालिका–७ ताकमका मनविर विटालुले भने ‘खान नपाए बरु मागेर गुजारा चलाउला,बस्ने वासै नभए पछि त कसरी बाँच्नु र ?’
पहिरो पीडितहरुलाई वासको व्यवस्था गर्न स्थानीय तहका जनप्रतिनिधिहरु पनि लागि परेका छन् । तर,उनीहरुको पहलमा मात्रै यतिधेरै पहिरो पीडितहरुलाई व्यवस्थित गर्न समस्या भएको छ । जनप्रतिनिधिहरु भन्छन् ‘वस्ने वासको मात्रै कुरा भएन, खानेपानी,शौचालय,हिड्ने बाटो लगाएतका अन्य संरचनाहरु पनि आवश्यक पर्छन्, उपयुक्त स्थानको हामीले खोजी गरिरहेका छौं ।’
मराङका वडाअध्यक्ष राजाराम सुवेदीले पहिरो पीडितहरुका लागि एकिकृत पुर्नवासको व्यवस्था गर्ने की अलग अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल भएको बताए ।
‘कतिपय पहिरो पीडितहरुको घडेरी समेत नभएकाले एकिकृत पुनर्वासको अवधारण ल्याइएपनि कतिपय चैं आफ्नै घडेरीमा वस्न चाहेकोले समस्या भएको छ,‘घडेरी समेत नभएकाहरुका लागि उचित स्थानको खोजीमा छौ’ सुबेदीले भने ।
सोही गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पहिरो पीडितहरुको अवस्था देखेर आफूलाई रातदिन पिरलिरहेको बताउँदै समस्या समाधानका लागि पहल भैरहेको तर टुंगोमा पुग्न नसकिएको बताइन् ।
उता मालिका गाउँपालिका ७ बिमका वडाअध्यक्ष रेशम जुग्जालीले पहिरोमा घर र आफन्त गुमाएका पीडितहरुलाई अझै केही दिन धैर्य गर्न अनुरोध गर्दै वर्षा सकिए लगत्तै पीडितहरुलाई वासको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अन्यत्रका पहिरो पीडितहरु अझैसम्म पनि पालमा वसिरहेको अवस्थामा विमका पहिरो पीडितहरुलाई भने वडाअध्यक्ष जुग्जालीको पहलमा गाउँमै रहेका अन्य घरहरुमा व्यवस्थापन गरिएको थियो । पहिरो गएकै रातको भोलिपल्ट पहिरो पीडितहरु अरुको घरमा भए पनि आश्रय लिन पाएका थिए ।
त्यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले तत्कालका लागि गाउँपालिकाको पहिलो प्राथमिकता बिम र देविस्थानका पहिरो पीडितहरुका लागि पुर्नवासको व्यवस्था नै रहेको बताए । ‘पहिरो पीडितहरुको समस्या समाधानमा हामी लागि परेका छौं, आर्थिक स्रोत र जग्गा व्यवस्थापनको काम हुँदै छ,उहाँहरुको समस्या समाधान गर्छौ’ अध्यक्ष रोकाले भने ।
स्थानीय जनप्रतिनिधिहरु पहिरोवाट घरवार गुमाएकाहरुलाई पुर्नवासको व्यवस्था मिलाउन लागिपरेका भएपनि प्रदेश र संघीय सरकार भने उदासिन देखिएको छ । कोभिड १९ को महामारीले उग्र रुप लिँदै गएपछि सरकारले सम्पूर्ण ध्यान कोभिड नियन्त्रण र रोकथाममै केन्द्रित गरेको अवस्थामा बाढी पहिरोबाट घरबार विहीन भएकाहरुको मागलाई कत्तिको ध्यान देला ? प्रश्न निरुत्तर नै रहेको छ ।