रघुगंगा गाउँपालिका–४,दग्नामको राम्कुलीबोटमा बस्ती माथिबाट खसेको पहिरोले करिब १० घरधुरी उच्च जोखिममा परेका छन् । भिरालो जमिन, कमजोर माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत पुरेको छ ।

पहिरोले स्थानीय कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआईसिङ गर्बुजा र रन बहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताउनुभयो । ‘घर चर्किएको छ,‘बस्ती नजिकैको जमिन चिरा परेको छ’ पुनले भन्नुभयो ।

तत्काल पहिरो नियन्त्रणका आवश्यक पहल नगरे कुनैपनि बेला थप क्षती हुने स्थानीयले बताएका छन् । पहिरोले छिमेकी दर्जिमा लैजोन विद्युतको ८ वटा पोलमा क्षती पुगेको छ भने दग्नाम गाउँको २ वटा पोलमा असर गरेको छ । पहिरोले देउमान गर्बुजाको गोठमा ढुंगामाटो थुप्रिएको छ ।

त्यस्तै यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजा सहित स्थानीयको खेतबारी समेत पुरेको छ । दग्नाम पहिरोको उच्च जोखिममा रहेको वडामा पर्छ । गाउँको प्रवेशद्धारमै रहेको पहिरोले हरेक बर्ष क्षती पुग्ने गरेको छ । यसैबीच गाउँपालिकाले पहिरो नियन्त्रण तथा क्षतीको विवरण संकलन गरिने जनाएको छ ।

Leave a Reply