नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा २१औं वासु–बैरागी स्मृति दिवस सम्पन्न भएको छ । शहिद स्मृति भवनमा आयोजित एक समारोहबीच सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी)को सम्झनामा दिवस मनाइएको हो ।

स्वर्गीय बासु र बैरागीको फोटोमा माल्यार्पण गर्दै नेकपा गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य एवं संविधान सभा सदस्य नवराज शर्माले स्व. नेताद्वयले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । उनले नेता तथा कार्यकर्ताहरु नैतिकवान् भए मात्र शहिदहरुको सपना पुरा हुने बताउँदै तत्कालीन एमाले र माओवादी फरकफरक धारबाट आएका दुई शक्तिहरुको एकताले सिङ्गो नेकपा बनेकोमा जोड दिएका छन् ।

नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्य शेरबहादुर केसीको स्वागत, कार्यालय सदस्य बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी लगायतका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

तत्कालीन माओवादी पार्टीका पोलिट व्युरो सदस्य सुरेश वाग्ले र नेता भीमसेन पोख्रेलको २०५६ साल भदौ २३ गते आजैका दिन पार्टी कामको सिलसिलामा हिँडिरहेका बेला प्रहरीले गोली हानी हत्या गरेको थियो । तत्कालीन माओवादी पार्टीले आजको दिनलाई वासु स्मृति दिवसका रुपमा मनाउँदै आएकोमा पार्टी एकतापछि नेकपाले दिवसलाई निरन्तरता दिएको जनाएको छ ।
गोरखाको पालुङ्गटारस्थित रातडाँडा भन्ने गाउँमा २०१० साल भदौ २४ गते पिता भोजराज वाग्ले र माता दुर्गादेवीको कोखबाट जन्मिएका बासु प्रहरीबाट मारिने तत्कालीन नेकपा माओवादीका सबैभन्दा उच्चस्तरीय नेता हुन् ।

Leave a Reply