विद्यालय शिक्षा भनेको प्रारम्भिक बाल शिक्षा हो शिक्षा ऐन २०२८ अनुसार विद्यालय शिक्षालाई प्रारम्भिक बाल विकास, आधारभुत शिक्षा र माध्यमिक शिक्षा गरि तिन भागमा विभाजन गरिएको छ ।
विद्यालय शिक्षा लाई उच्च शिक्षा को जगको रुपमा लिइन्छ। अर्कोतर्फ, अभिभावक भनेको कुनै पनि विद्यालयमा अध्यनरत बालबालीकाको हेरचाह र सुरक्षा गर्ने व्यक्तिको रुपमा चिनिन्छ ।
शिक्षा ऐन २०२८ अनुसार, अभिभावक भन्नाले बुबाआमा र हजुरबुबा हजुरआमा भन्ने बझिन्छ समग्रमा तर त्यो बाहेक दादा,दिदी, आन्टी,अङ्कल ठुलोबाबा, ठुलोमम्मी आदि पनि अभिभावक हुनसक्नुहुन्छ । बालकको विकासमा अभिभावकको ठूलो भूमिका हुन्छ किनभने बालकको अभिभावक उसको पहिलो गुरू हो र उसको परिवार उसको पहिलो विद्यालय हो ।
त्यसैले अभिभावकले बालकलाई प्रदान गरेको माया, प्रेम, स्नेह र संस्कार उनीहरुको भविष्यमा ठूलो प्रभाव पार्दछ भने विद्यालय शिक्षामा पनि प्रत्यक्ष रुपमा असर पुराएको हुन्छ। त्यसैले विद्यालय शिक्षामा अभिभावकको भूमिका गहन रुपमा हुन्छ ।
मानिसको भविष्य र चरित्र निर्माणको लागि बाल्यकाल नै उपयुक्त समय हो।यो अवस्थामा नै व्यक्तित्त निर्माणको जग राख्न जरुरी छ। यो अवस्थामा विद्यार्थीको प्रवृत्तिमा लचिलोपन हन्छ।यसर्थ अभिभावकको संस्कार उत्तम छ भने उनका छोरोछोरीको संस्कार पनि उत्तम नै हुन्छ।
हाम्रो धार्मिक ग्रन्थमा के भनिएको छ भने आमाबुबाको शारिरीक र मानसिक गर्भस्थ सन्तानको शरीर र मनमा गहिरो प्रभाव पर्छ ।यस कारण सन्तान जन्मिने समय उसको पहिलो गुरु आमा नै हुन्छिन। आमा उनीहरुको शाररीक गठन र स्वास्थ्यको लागि मात्र उत्तरदायी हुँदैनन् अपितु उसको चरित्र निर्माणको पहिलो दायित्व उनी माथि नै हुन्छ ।
आमापछि उनीहरु माथि उसको बाबाको व्यक्तित्वको प्रभाव पर्छ। विद्यालय पुग्नुअघि अभिभावकले उनीहरुको पालनपोषण मात्र होईन अपितु उसलाई विभिन्न प्रकारका कुराहरुको ज्ञान पनि दिन्छन।
यस कारण घरको वातावरणको प्रभाव उनीहरु माथि स्वभाविक रुपले पर्न जान्छ। माया सँगसँगै संयम अनुशासन, शुद्ध आचरण र विशुद्ध आचार- व्यवहारको शिक्षा दिन पनि अभिभावकको कर्तव्य हो ।
आमाबुबाको सिमा भन्दा बढी मायाले उनीहरुलाई उत्तरदायीत्व विहिन र आलसी बनाउँछ भने कठोर अनुशासन र दन्डले उनीहरुलाई उग्र र जिद्दी बनाइदिन्छ ।
वर्तमान परिप्रेक्ष्यमा प्रत्येक अभिभावक आफ्नो सन्तानको भविष्य प्रति चिन्तित छन् प्रत्येक अभिभावकको सपना छ कि उसको सन्तानले अत्याधीक ज्ञान हाँसिल गरोस। सन्तानलाई ज्ञान दिलाउन एक विद्यालयबाट अर्को विद्यालएको खोजीमा लागिरहन्छन ।
तर मेरो दृष्टिकोणमा विद्यार्थीलाई विद्यालयको भरमा मात्र छाडीदिदा अभिभावकिय जिम्मेवारी पुरा भएको मानिदैँन। भन्न के मात्र खोजेको हो भने विद्यार्थीको भाविष्य र चरित्र निर्माणमा जति भूमिका शिक्षक र विद्यालयको छ त्यो भन्दा बढी भूमिका अभिभावकले निर्वाहा गर्नुपर्छ। अनि मात्र उद्देश्य प्राप्त हुन सक्छ।
युग बदलियो । परिवेश बदलियो । शिक्षा पद्धतिमा पनि समसामयिक परिर्वतन र सुधार भयो । पाषाण युग विकासक्रमको सिढि चढ्दै कम्युटर युगमा परिणत भयो।
मौखिक र व्यवहारीक शिक्षा, लिखित शिक्षा र आश्रमको शिक्षा पक्की भवनमा परिणत भयो । विद्यार्थीहरु माथि शैक्षिक बोझ प्रस्तिपर्धात्मक युग अनुरुप बद्दै गएको छ । तर पनि आजअभिभावकको सोच विद्यार्थीलाई विद्यालय पठाई दिएपछि कर्तव्य पूरा हुन्छ भन्ने नै छ।
तसर्थ अभिभावकले विद्यालयमा मात्र निर्भर नभै विद्यार्थीको प्रगतिप्रति सक्रिय हुन आवश्यक छ किनभने आज अभिभावकले विद्यालयलाई एउटा पसल र शिक्षकहरुलाई पसलेको रुपमा हेर्न थालेका छन् । यस सोचाइले गर्दा शिक्षक र अभिभावकको दुरी बढ्दै गएको छ ।
अर्कोतर्फ विद्यालयद्वारा राखीएको अभिभावक बैठकमा भिभावकको न्युन उपस्थितिले के प्रमाणित गर्छ भने अभिभावक वर्ग आफ्नो सन्तान प्रति जागरूक छैनन् ।
यस्तो बैठकमा अभिभावकको उपस्थिति नितान्त हुन आवश्यक छ।यस्ता बैठकमा भाग लिइ अभिभावकले आफ्नो सन्तानको प्रगतिप्रति शिक्षकलाई आकृष्ट गराउन सक्छन भने अभिभावक स्वयम गर्नुपर्ने दायित्व प्रति सचेत हुन सक्छन।
आजको प्रतिस्पर्धात्मक युगमा एउटा अभिभावकलाई आफ्नो जिविका चलाउन निकै व्यस्त रहनुपर्छ उनीहरु व्यस्त रहे पनि उनीहरुको ध्यान बालबालिकाप्रति एकाङ्गि हुन्छ । यतातिर ध्यान भएपनि सॉझ घर थाकेर पुग्दा बालबालीकालाई सहयोग गर्नु त एकातिर, उनीहरु को कुरा पनि राम्ररी सुनीदिदैन्।
बालबालीकाले त्यसलाई अभिभावकको अपेक्षा ठान्छन र उनीहरुमा विपरित धारणा प्रकट हन्छ। त्यसैले अभिभावकहरू जति व्यस्त भएपनि केहि समय आफ्नो बालबालीकासँग बिताउन्रपर्छ।
उनीहरुको कुरा ध्यान पूर्वक सुनिदिनुपर्छ र विद्यार्थीलाई चाहिएको सामग्री समयमै उपलब्ध गराइदिनुपर्छ । यसो गर्दा उनीहरु भित्रको हिन भावना नष्ट हुँदै जान्छ र आत्मविश्वास पैदा हुन्छ जसबाट प्रेरित भई उनीहरुको भविष्य राम्रो हुन्छ।
अभिभावकले कहिले पनि आफ्नो तनाव र रिस बालबालीका माथि निकाल्न हुँदैन । उनीहरु समक्ष झगडा गर्नु हुँदैन। छोराछोरीसंग गल्ती भएमा सम्झाउनु पर्छत्यसको विपरित भएमा उनीहरूमा नकारात्मक प्रभाव पर्छ र उनीहरु जिद्दि हुँदै जान्छन् ।
छोराछोरीलाई समयमै गल्तीको आभास गराउनु बुद्धिमानी हुन्छ । अभिभावकहरुले के बिर्सिनु हुँदैन भने नक्कल गर्नु बल स्वभाव हो। त्यसैलेउनीहरुको अगाडि गलत प्रक्रिया जस्तै जाँड/रक्सि खान , चुरोट आदि खान हुँदैन।
बदलिदो समय र परिस्थिति अनुसार विद्यार्थी माथि पठाइएको बोझ बढ्दै गएको छ विद्यालयमा कहिलेकाहिँ समयको अभावले गर्दा शिक्षकले पाठलाई खुलस्तरले पठाउन सर्मथ हुँदैन र अर्कोतर्फ विद्यार्थीको दिनप्रतिदिनको मुल्याङ्कन गर्न शिक्षकद्वारा गृहकार्य दिइएको हन्छ ।
यो दुवै कारणले गर्दा विद्यार्थीहरु कहिलेकाहिँ टाढा हुन खोज्छन् । विद्यालयमा पढेको कुराहरु घरमा एक चोटि फेरि दोहोराइदिनु अभिभावकको कर्तव्य हो । विद्यार्थीको प्रगतिमा अर्को बाधा परिक्षा पनि हो ।परिक्षाको भयले गर्दा उनीहरूको मानसिक शक्ति कमजोर हुँदै जान्छ ।
उनीहरुलाई के डर लाग्छ भने यदि परिक्षामा राम्रो अङ्कआएन भने विद्यालय र अभिभावक दुवै तर्फ बाट गालि खानुपर्दा उनीहरुलाई परिक्षा नै सबै थोक होइन भनेर सम्झाउने दायीत्व विद्यालयमा शिक्षकहरुको र घरमा अभिभावकहरुको हुन्छ।
अन्त्यमा, अभिभावकहरु समय-समयमा विद्यालय गएर आफ्नो सन्तानको प्रगतिबारे शिक्षकरूसँग छलफल गर्नुपर्छ। आफ्नो नानीको स्वास्थ्य प्रति सचेत रहनुपर्छ समय समयमा उसलाई प्रोत्साहित गर्नुपर्छ र बाहिर घुमाउन लग्नुपर्छ । उसको साथिहरुको बारेमा जानकारी राख्नुपर्छ। उसँग समय बिताउनुपर्छ । उनीहरुको भावना बुझ्नपर्छ। यसरी विद्यालयको शिक्षामा अभिभावकको भूमिका छ ।
पौडेल बेनी नगरपालिकाद्धारा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम पुरस्कार विजेता हुन् ।