बेनी नगरपालिका-६,का सामुदायिक विद्यालयले विद्यार्थी र समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना अभियान सञ्चालन सुरु गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमले लामो समयदेखि विद्यालय बन्द भएपछि अभिभावक र विद्यार्थीलाई कोरोनाका बारेमा पर्चा वितरण सहित विद्यालयका शिक्षक घरदैलो अभियानमा जुटेका हुन् ।

जामुनाखर्क माविको अगुवाईमा विद्यामन्दिर, थाकनपोखरी र बागेश्वरी आधारभुत विद्यालयका शिक्षक वडाभित्र घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम सहित विद्यार्थीलाई नियमित पढाईमा आर्कषित गर्ने सुरु गरेको जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुंगानाले बताउनुयो ।

‘अभिभावक उत्साहित हुनुभएको छ,‘कोरोनाबाट जोगिने सन्देशसँगै विद्यार्थी भेटघाट पनि भइरहेको छ’ ढुंगानाले भन्नुभयो ।

लामो समय विद्यालय बन्द हुदाँ विद्यार्थीको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै घरदैलोमा पुगेर कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिने र नियमित गतिविधिमा सतकर्ता अपाउन समेत अनुरोध गरेको विद्यालयले जनाएको छ ।

यसैगरि सदरमुकाम बेनीबजारमा रहेको बेनी सामुदायिक माविले समेत सेवा क्षेत्र अन्तरगत पर्ने बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा पुगेर विद्यार्थीलाई गृहकार्यसँगै कोरोनाको सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो ।

‘पहिलो चरणको अभियान सकिएको छ,‘थप नयाँ योजना सहित घरदैलोमा पुग्ने तयारीमा छौ’ श्रेष्ठले भन्नुभयो। बेनी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई स्वयंमसेवकको रुपमा खटाउने निर्णय समेत गरेको थियो ।

विद्यार्थी घरघरमा भएकाले कोरोनाबाट जोगिने सन्देश सहितको अभियानमा नगरभित्रका १० वटै वडामा सामुदायिक विद्यालयलाई समुदायमा पुग्ने गरी कार्ययोजना बनाउन निर्देशन समेत दिएको थियो ।

Leave a Reply