---Advertisement---

पोखरा- बागलुङ सडकको पर्वत खण्ड सहज बनाउन अधिकारकर्मीको माग

On: September 11, 2020 6:45 AM
Follow Us:

पोखरा बागलुङ राजमार्ग अन्तर्गतको नयाँपुल मालढुंगा सडक खण्ड लामो समय सम्म स्तरोन्नति हुन नसकेपछि मानवअधिकारकर्मीहरुले तत्काल सडकको स्तरोन्नति कार्य थाल्न र मर्मत गर्न माग गरेका छन् ।
मानव अधिकार संगठन पर्वतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सडक मर्मत सँगै स्तरोन्नति कार्य अघि बढाउन माग गरेको हो ।
कास्कीको सिमानामा पर्ने नयाँपुलदेखि बागलुङको सिमाना मालढुंगासम्मको करिव २७ किलोमिटर सडक खण्ड पूणर् रुपमा मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ । करिव ४ बर्ष अघिदेखि शुरु भएको सडक स्तरोन्नति कार्यले गति नलिँदा सामान्यतया सडकमा भएको कालोपत्रे पनि उप्किएको र विशेष गरी विरामीहरुलाई यात्रा गर्न असहज भएको भन्दै ध्यानाकर्षण जनाएको हो ।
मानवअधिकार संगठन लगायत नेपाल पत्रकार महासंघ पर्वत, इन्सेक पर्वत, गैसस महासंघ पर्वत, नागरिक समाज सञ्जाल पर्वत र महिला मानवअधिकार रक्षक सञ्जाल लगायतले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त विज्ञप्ति बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझाउँदै मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेलले विरामी, पर्यटक लगायत अत्यावश्यक काममा आवातजावत गर्ने यात्रुहरुका लागि पर्वत खण्डमा कष्टकर यात्रा गर्न बाध्य भएको स्मरण गराउँदै सम्बन्धित निकायलाई तत्काल सडक मर्मत कार्य गर्न माग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले ध्यानाकर्षण पत्र बुझ्दै यस अघि पनि अन्य सर्वसाधारणहरुले समेत पटक पटक गुनासो गरेको र सम्बन्धित आयोजनाका प्रमुख र निर्माण पक्षलाई बोलाएर तत्काल सडक मर्मत कार्य अघि बढाउन निर्देशन दिएको बताए । रेग्मीले कोरोना महामारी सँग बर्षा यामको कारण सडकको काम अघि बढाउन नसकिएको सम्बन्धित पक्षले बताएका र कामदार ल्याउने सवालमा स्वास्थ्य चेकजाँच गरेर ल्याउने कुरामा आफु सकरात्मक रहेको कुरा जानकारी गराएको बताए ।