नरबहादुर बिसी.यस्तो नाम हो, जसले म्याग्दी जिल्लाको नेतृत्व गर्दै २०३७ सालदेखि लगातार १५ वर्षसम्म जति पनि लोक साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुनुभयो । त्यसमा उहाँले कहिल्यै पनि दोस्रो स्थान हासिल गर्नुपरेन । सधैं प्रथम स्थान नै बिसीको विशेषता जस्तै बनेको थियो । ठेट नेपाली शब्द अनि आधुनिकता सँगसँगै उहाँका शब्द चयनले त्यसबखत सबैलाइ मोहित बनाएको हुन्थ्यो । शालिन अनि सभ्य भाषा बिसीको विशेषता नै हो ।

जीतबहादुर बानियाँ र शिवकुमारी बानियाँको कोखबाट २०१६ साल भदौ २४ गते जन्मनुभएका नरबहादुर बिसीको पुख्र्यौली घर म्याग्दीको मंगला गाउँपालिका–३, (साविक बरंजा गाविस–२) पखेर हो । भारतको गुहाटीमा बाबाआमा रहेको समयमा गुहाटीमै बिसीको जन्म भएको थियो ।

लामो समय शिक्षण पेशासँगै लोकदोहोरी गायनलाई अगाडि बढाउनुभएका उहाँले पहिलोपटक २०३७ सालमा म्याग्दीको सहस्रधारामा भएको मेलामा तत्कालीन धौलागिरी अञ्चलस्तरीय लोकदोहोरी प्रतियोगिता राष्ट्रियस्तरमा स्वर्णपदक विजेता काजु शेरचनको टोलीलाई पराजित गरेर पहिलो हुनुभएको थियो । त्यसपछि २०५२ सालसम्म लगातार लोकदोहोरीमा उहाँले नेतृत्व गरेको टोलीले पहिलो स्थान गुमाउनुपरेन ।

पानको पात, सोल्टी ज्यु, लगन, मेचीदेखि महाकाली, युद्धविराम, सम्झना, सिरफुलै माया जस्ता गीति क्यासेट निकाल्नुभएका बिसीले विभिन्न विधामा दर्जनौं पुरस्कारहरु पनि पाउनुभएको छ । बिसीले २०४२ सालमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिताकै अवसरमा भएको लोकनृत्यमा स्वर्णपदक जित्नुभएको थियो ।

उहाँले २०६४ सालमा बानियाँ बन्धु समाजबाट समाजसेवा सम्मान, म्याग्दी प्रवासी नेपाली संघ बहराईनबाट २०६५ सालमा कलाकार सम्मान, २०६७ मा शिक्षा सेवा सम्मान, २०७१ लोक कलाकार सम्मान, साहित्य कलाकार सम्मान २०७५, गीति साहित्य सर्वोत्तम सम्मान अमेरिका सन् २०१२, सन् २०१६ मा अमेरिकाबाटै लोक कलाकार सम्मान लिनुभएको थियो ।

लोकदोहोरी गीतको क्षेत्रमा मंगला गाउँपालिकाको सहस्रधारामा भएको माघेसङ्क्रान्ति मेलामा उहाँले पहिलोपटक लोकदोहोरी गीतमा २०३७ सालमा पहिलो स्थान हासिल गरेपछि उहाँले नेतृत्व गरेर म्याग्दीको प्रतिनिधित्व गर्दै गर्दा २०५२ सम्म पहिलो स्थान हासिल गर्नुभयो । स्थानीयस्तर, जिल्लास्तर तथा राष्ट्रियस्तरका टोलीलाई समेत पराजित गर्नुभएका बिसीको महिला टोलीमा भने रघुगंगा गाउँपालिका–७, चिमखोलाकी धनकुमारी थापा हुनुहुन्थ्यो ।

लोकदोहोरी गायिका तथा थालीनाचलाई जगेर्ना गरेकी थापाले बिसीलाई लोकदोहोरीमा दरिलो साथ दिनुभएको थियो । हालसम्म ९ ओटा पुस्तकहरु प्रकाशन र ७ ओटा गीति क्यासेट निकाल्नुभएका लोकदोहोरी गायक बिसीले १३ ओटा विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । उहाँले लोकदोहोरीगीत प्रतियोगितामा दर्जनौंपटक प्रथम स्थान हासिल गर्नुभएको थियो ।

Leave a Reply