यसवर्ष म्याग्दीको धवलागिरी गाउँपालिका बाहेकका पाँचवटै स्थानीय तहमा डेंगु भाइरसको बिरामी भेटिएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हालसम्म ५० जनामा भएको छ । २०७७ बैशाखपछि पाँच महिनाको अवधिमा बेनी अस्पतालमा उपचारका लागि आएका ५० जनामा डेंगुको संक्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ ।

भदौ ११ गतेपछि मात्रै ११ जनामा डेंगु पोजिटिभ देखिएको छ ।जिल्लाभित्र हालसम्म कम उमेरमा बेनी नगरपालिका–१, रत्नेचौरकी ३ वर्षकी बालिकालाई देखियो भने रघुगंगा गाउँपालिकाकी ७८ वर्षीया महिलामा पनि डेंगुको संक्रमण देखिएको थियो ।

बेनी अस्पतालको तथ्याङ्कअनुसार हालसम्म मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा डेंगुको संक्रमण देखिएको छ ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परिक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारयाण लम्सालले बताउनुभयो ।

लम्सालका अनुसार लामखुट्टे खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नरहेकाले नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यमा सबै लाग्नुपर्छ ।

निमित्त प्रमुख लम्सालले भन्नुभयो– ‘म्याग्दीमा ल्याव परीक्षण गर्दा कतै किटमा समस्या हो कि भनेर पुनःः परीक्षणका लागि त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएकोमा त्यहाँबाट पनि थप पुष्टि भएपछि अब म्याग्दीमा लामखुट्टे नष्ट गर्ने कार्यमा खट्नुपर्ने देखियो ।’

म्याग्दीको प्रमुख गन्तव्य पोखरा रहेको र पोखरा गएर फर्कनेहरुबाट बढी आएको हुन सक्ने र बेनीबजारमा डेंगु सार्ने लामखुट्टेको बासस्थान रहेकोले त्यसलाई नियन्त्रण गर्नका लागि सबैले प्रयास गर्नुपर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

‘सरसफाइमा ध्यान दिने, लामुखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने उपाय हो’, डाक्टर घिमिरेले भन्नुभयो । घिमिरेले थप्नुभयो –‘आन्तरीक रक्तश्राब सम्मको अति जटिल प्रकृतिको समस्या सहितका डेंगुका बिरामीहरु समेत बेनीमा आएका छन्, केही यही उपचार पछि ठिक भएको भए पनि केहीलाई थप उपचारका लागि माथिल्लो अस्पतालमा समेत रिफर गरिएको छ ।’

शरिरका जोर्नीहरु दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या डेंगुको संक्रमणको कारणले हुन सक्छ । वर्षात्को समयमा पानी परेसँगै संक्रमितहरु बढ्ने गरेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीको भनाइ छ । हालसम्म बेनी अस्पतालमा आएका ५० जनामा डेंगु पुष्टी भए पनि सुरक्षा व्यवस्थामा ध्यान नदिएको कारणले गर्दा थप जोखिम बढ्दै गएको सुवेदीले बताउनुभयो ।

Leave a Reply