---Advertisement---

चितुवा नियन्त्रण गर्न निकुञ्चबाट डार्टिङ टिम आउँदै

On: September 11, 2020 2:21 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित हरियाली समुहको कालिज फार्ममा पसेको चितुवालाई नियन्त्रण गर्न विशेषज्ञको टोली चितवन राष्ट्रिय निकुञ्जबाट आउने भएको छ ।

बिहिबार राती फार्मभित्र पसेर कालिज खाएपछि बाहिर निस्कन नसकेको चितुवालाई बेनीमा उपलब्ध प्राविधिक सहितको टोलीले नियन्त्रण गर्न नसक्ने अवस्था देखिएपछि निकुञ्जबाटै टोली मगाइएको डिभिजन बन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।

‘पत्र पठाइसकिएको छ,‘त्यहाँबाट टोली प्रस्थान गरेकाले भोलीमात्रै उद्धार हुन्छ’ खनालले भन्नुभयो ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको टोलीले चितुवालाई बस्तीमा आउन नदिने गरी फार्मभित्रबाट बाहिर आउने सबै बाटो बन्द गरिएको छ ।

निकुञ्जको टोलीले डाट्रिङ बन्दुकको सहायताले औषधीको प्रयोग गरीसिरिन्ज प्रहार गरी लठ्याउन सकिने र त्यसपछि नियन्त्रणमा लिई सामुदायिक वन क्षेत्रमा लगेर छाडिने निमित्त प्रमुख खनालको भनाइ छ । फार्मभित्र पसेको चितुवाको वरिपरी धेरै भीडभाड नगर्न समेत अनुरोध गरिएको छ ।

नजिकै मान्छे जाँदा आक्रमण गर्न खोज्ने भएकाले चितुवालाई बस्ती आसपासका क्षेत्रमा छोड्न नहुने प्राविधिक टोलीको भनाई छ।‘मानवमाथी अक्रमण गर्ने नरभक्षी चितुवा जस्तै देखिन्छ,‘यसलाई जिल्ला बाहिर नै लगेर छोड्ने सुझाव दिन्छौ’ डिभिजन बन स्रोतले भन्यो । ४ सय ५० वटा कालिजहरु पालिएको फार्म भित्र चितुवा पसेपछि आसपासका क्षेत्रका बासोबास गर्न त्रसित भएका थिए ।

फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति संख्यामा कालिज मारेको भन्ने एकिन नभएको फार्मका प्रवन्ध निर्देशक शेरबहादुर केसीले जानकारी दिनुभयो ।अहिले कालिजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुल्ला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भैरहेको छ । आहाराको खोजिमा चितुवा जाली नाघेर कालीजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ ।।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।