जब साँझ पर्छ अनि दिनभरीको थकानले शिथिल भएर कोठामा फर्केपछि आमालाई फोन गर्छु । आमाको मन त हो पीडा मिश्रित आवाजमा भन्नुहुन्छ, छोरी निकै गाह्रो भयोँ तिमीलाई घरमै आउ भो ।

तर यो समयमा त्यो थकित अनुहार भएको मुखबाट शब्द निस्कन्छ सबैलाई पीडा छ अहिले, अनि हामीले नगरे कसले गर्ने आमा ? हजुर जस्तै धेरै आमाहरुलाई खुशी बनाउनका लागि पनि हामी खट्नैपर्छ ।

सुन्दा पनि निकै पीडा हुने माथिको संवाद हो सोनी कोजुको । भर्खर २५ वर्षमा घुम्दै गरेको उमेर, तर जिम्मेवारी भने ठूलै छ । उहाँ अहिले म्याग्दीको बेनी अस्पतालमा रहेको प्रयोगशाला विभागमा मेडिकल ल्याब्रोटरी टेक्नोलोजिष्ट पदमा कार्यरत हुनुहुन्छ ।

बेनी अस्पतालमा हाल १६ जना डाक्टरहरु कार्यरत छन्भने म्याग्दीका साथै बागलुङको केही क्षेत्र र पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले पनि स्वास्थ्य सेवा लिन्छन् । करिब १ लाख ३० हजार मानिसको पहिलो प्राथमिकता पर्ने बेनी अस्पताल हो ।

मजबुत आत्मविश्वास अनि दृढ आत्मबलको सङ्कल्पसहित दैनिक सेतो पिपिई सेटमा सजिएर गर्मीमा गुम्सिँदै शङ्कास्पद र संक्रमितहरुको स्वाब सङ्कलनमा अग्रभागमा नेतृत्व गरिरहनुहुन्छ सोनी कोजु ।

चितनव मेडिकल कलेजबाट ल्यावसम्बन्धी विषयमा अध्ययन सकेर बेनी अस्पतालमा आउनुभएको उहाँले अहिले कोरोनाको विरुद्धमा म्याग्दीको युद्धको कमाण्ड सम्हालिरहनुएको छ ।

सुरुको समयमा ल्याबमा ध्रुव गिरीको कमाण्डमा सोनी खट्नुभएको थियो भने गिरी पोखरा काजमा गएपछि अहिले भने पुरै कमाण्ड सोनीकै काँधमा आएको छ ।

भक्तपुर नगरपालिका–९, तौलछेकी सोनी २०७६ जेठ ६ गते बेनी अस्पतालमा आइपुग्नुभएको थियो । सोनीले म्याग्दीभित्र हालसम्म एक हजारभन्दा धेरैको स्वाब सङ्कलन गरी सक्नुभएको छ ।

सुरुको समयमा गिरीसहित खट्नुभएकी उहाँले पछिल्लो समय हजारभन्दा बढीको स्वाब सङ्कलन कार्यको नेतृत्व गर्नुभएको छ ।

बेनी अस्पतालमा ल्यावको मुख्य खम्बाकै रुपमा रहनुभएकी सोनी दैनिक १८ घण्टाभन्दा बढी खट्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘बिहान पाँचै बजेदेखि नै पनि खट्नुपर्छ बेलुका कतिबेला कोठामा पुगिन्छ पत्तै हुँदैन ।’

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको विरुद्ध नेपालमा पनि गएको चैत ११ गतेदेखि लकडाउन सुरु भयो । त्यसपछि कोरोना संक्रमणको आशङ्कामा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तथा क्वारेन्टीनमा मानिस राख्ने र उनीहरुको स्वाब परीक्षण गरेपछि घर पठाउने ।

स्वाब सङ्कलनका लागि पश्चिम म्याग्दीको दरबाङमा पुगेर काम गर्ने क्रममा बाथरुम प्रयोग गर्नुपर्ने अवस्थामा स्थानीयले सहज महसुुस नगरेको नमीठो अनुभव सोनीसँग छ । सोनी भन्नुहुन्छ– ‘जिल्लाको सबै क्षेत्रमा पुगेर स्वाब सङ्कलन गरियो, एकैदिन १०६ जनासम्मको स्वाब सङ्कलन गर्दा निकै कठिन त भयो तर पनि त्यो मेरो जिम्मेवारी थियो ।’

अन्य जिल्लाहरुमा छिमेकी तथा घरबेटीले स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार गरेको घटना स्मरण गर्दै सोनी सुनाउनुहुन्छ– ‘मत अस्पतालभित्रै बस्ने हुँदा समस्या भएन तर यहाँ पनि घरमा नआउनु भनेर साथीहरुलाई भनियो, तर जिल्ला प्रशासन, अस्पताल प्रशासन एवं जनस्वास्थ्य कार्यालयले समन्वय गरेर उहाँहरुलाई पनि कन्भिन्स गर्न सफल भइयो ।’

अहिले कोरोनाको संक्रमण जिल्लाको समुदायस्तरमा पुगिसकेको छैन, त्यसैले हालसम्म यहाँ समस्या छैन । तर कोरोनाको चुनौतीसँगै अवसर पनि छ, यस्ता सरुवा रोगको महामारीले यस क्षेत्रमा धेरै कुराहरु सिकाउने सोनी भन्नुहुन्छ ।

घरमा बाबाआमा अनि एक बहिनी र एक भाई हुनुहुन्छ भने सोनी परिवारको जेठो सन्तान हुनुुहुन्छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै लकडाउनपछि नियमित सबै स्थानको स्वाब सङ्कलनमा सहभागी सोनीले आफूले पनि आवश्यकताअनुसार स्वाब परीक्षण गरे पनि हालसम्म सुरक्षा कबजको सही प्रयोग र आवश्यक सुरक्षा सतर्कता अपनाएकै कारण उहाँ संक्रमणबाट जोगिन सफल हुनुभएको छ ।

पिपिई सेट लगायतका स्वास्थ्य सुरक्षा कवजहरु सहि तबरले प्रयोग गरेमा संक्रमणको जोखिम हुँदैन– सोनीले अनुभव सुनाउनुहुन्छ ।

अहिलेको अवस्था ढुक्क हुन सक्ने छैन र डराउने पनि होइन, कोरोना केही होइन भन्दै भ्रम फैलाउनेहरुको पनि जमात ठूलै छ । सोनी भन्नुहुन्छ, तर पनि कोरोना मात्रै होइन जुनसुकै रोगहरुको विरुद्ध सचेत र सुरक्षित भइएन भने जस्तोसुकै पनि परिणाम आउन सक्छ भन्ने कोरोनाले नै देखायो ।

श्यामकृष्ण कोजु र रत्नेश्वरी कोजुको कोखबाट २०५१ सालमा जन्मनुभएकी सोनी अहिले म्याग्दीमा जारी कोरोना विरुद्धको युद्ध मोर्चाको कमाण्डर नै हो ।

सोनी भन्नुहुन्छ निरन्तर कोरोना विरुद्धको अभियानमा खट्नका लागि जिल्ला कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर एवम् मलाइ स्वाव संकलनमा सहयोग गर्ने रजनी राम्जाली, सृष्टि राम्जाली, ज्ञानेश्वर आचार्यलगायतको भूमिका अतुलनिय छ ।

Leave a Reply