अधिक बर्षासँगै बेनी-अर्थुङ्गे सडकखण्डबाट खसेको चट्टानले बुद्ध विहार र मंगलाघाट बजार जोखिममा परेको छ । बस्ती माथिको डाँडाबाट ढुंगामाटोको लेदोसँगै बराहपाखो सामुदायिक बनको खोरियामा सल्लाको रुखमा अड्किएको ठूलो चट्टानले स्थानीयलाई त्रसित बनाएको छ ।

अत्याधिक बर्षासँगै भिरालो जमिनबाट बग्ने भलबाढी बग्ने खोल्सा समेत चट्टानले धार परिवर्तन गरेपछि जोखिम बढेको मंगलाघाटका स्थानीय यूवा सचिन शाक्यले बताए । ‘बिशाल चट्टान रुखमा अड्किएको छ,‘बेलैमा ब्यवस्थापन नगरे ठूलो क्षती हुनसक्छ’ शाक्यले भने ।उनले एउटा रुख र नजिकै रहेको सानो चट्टानले रोकेको भएपनि माथिबाट तिब्र गतिमा पहिरो खसेमा चट्टानलाई समेत खसाल्ने अवस्था रहेको बताए । चट्टान नजिकैबाट बग्ने खोल्सा समेत पुरिएको अवस्थामा धार बुद्ध विहार, रिकको भवनतर्फ मोडिएको छ ।

बाढीले बराहपाखो र आपारुख सामुदायिक बन क्षेत्रको जमिनमा समेत असर गरेकाले ठूला चट्टानलाई समयमै उचित ब्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । बेनी–अर्थुङ्गे–पाखापानी सडकखण्डबाट खस्ने लेदो सहितको भलले मंगलाघाट र क्याम्पसचोकमा हरेक बर्ष क्षती पुग्ने गरेको छ ।

उक्त क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका मेयर लगायत जनप्रतिनिधिलाई समेत जानकारी भएकाले ब्यवस्थापन हुनेमा स्थानीयबासी ढुक्क छन् । गत महिना सडकखण्डबाट खसेको बाढीले मंगलाघाटका करिब दुईदर्जन घरमा हिलो पसेको थियो । खोल्सा अतिक्रमण गरी बनाइएको संरचनाका कारण समेत बस्तीमा धेरै क्षती हुने गरेको छ ।

Leave a Reply