म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गामा सञ्चालित हरियाली समूहको कालिज फार्ममा पसेको चितुवालाई शुक्रबार राती नियन्त्रणमा लिएको छ ।

नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौलाको नेतृत्वमा आएको पाँच जना विशेषज्ञको टोलीले शुक्रबार राती नियन्त्रणमा लिएको हो ।

उक्त पोथी चितुवालाई सुरक्षित रूपमा चितवनबाटै आएको टोलीले जिल्ला बाहिर स्थानान्तरण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार नियन्त्रणमा आएको चितुवालाई कुनै जंगलमा सुरक्षित छोड्ने वा चितवन नै लैजाने भन्ने बारेमा विशेषज्ञ टोलीले नै निर्णय गर्ने छ । टोलीले डाट्रिङ बन्दुकको सहायताले औषधिको प्रयोग गरि सिरिन्ज प्रहार गरी लठ्याएर नियन्त्रणमा लिएको थियो ।

विगतमा जिल्लाभित्र नियन्त्रणमा लिएर आसपासका जंगलमा छोडिएका चितुवाले बाटोमा यात्रा गर्दा समेत आक्रमण गर्ने जोखिम बढेपछि यसपटक जिल्ला बाहिर लैजान समेत टोलीलाई सुझाव दिइएको थियो । करिब ३ बर्ष र ३५ केलो तौल रहेको चितुवाले फार्मभित्र ६८ कालिज खाएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

चितुवा पसेको जानकारी लगत्तै प्रहरीको टोलीले शुक्रबार विहानै देखि आसपासमा क्षेत्रमा सुरक्षा दिएको थियो । फार्मबाट निस्किएर सर्वसाधारणलाई समेत आक्रमण गर्न सक्ने जोखिमलाई मध्यनजर बस्तीमा आउन नदिने गरी फार्मभित्रबाट बाहिर आउने सबै बाटो बन्द गरिएको थियो । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ।

Leave a Reply