‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेको माथिको कवितांशलाई सत्यसावित गरिदिएका छन् म्याग्दीको दुर्गम गाउँ मराङमा जन्मिएका खड्ग गर्बुजाले ।

सालैजोका ‘किङ’को उपनामले समेत देश–विदेशमा चर्चित बनेका गर्बुजाको वर्तमान जति सुखद र सम्पन्न छ, उनको बाल्यकाल त्योभन्दा दुःखद र निस्सार थियो । १६ वर्षको उमेरमा बेलायती सेनामा भर्तीका लागि गल्लाको छनोटमा परिसकेका बेला घाँस काट्न जाँदा भीरबाट लडेर मेरुदण्ड भाँच्चिएका उनलाई सारा जीवन अन्धकारमय हुने भयो भनेर पर्नु पीर परेको थियो ।

तर, संघर्षका पहाडहरू छिचोल्दै वर्तमानको मैदानमा रमाइरहेका गर्बुजाले हिम्मत हारेनन् । उनी कसिला बन्दै रसिलो सांगीतिक फाँटमा मौलाउन पुगे ।

०४६ सालमा राजधानी छिरेका ०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर औपचारिक सांगीतिक यात्रा आरम्भ गरेका गर्बुजा नेपालको पश्चिमी क्षेत्रमा प्रसिद्ध बनेको सालैजोको भण्डार मानिन्छन् ।
०४७ सालदेखि अहिलेसम्म ९ सयभन्दा बढी गीत रेकर्ड गरिसकेका गर्बुजाले आफूले सिर्जना गरेका, तर रेकर्ड नभएका पनि २०÷२५ वटा गीत रहेको बताए ।

हराइसकेको माउरी बाजालाई चर्चामा ल्याउने श्रेय पनि खड्गलाई नै जान्छ । ०५४ देखि रेडियो नेपालको सांगीतिक शाखाका जागिरे खड्ग शब्द–लय संकलन, गायनसँगै बाँसुरी, मादल, माउरी बाजा बजाउँछन् । अहिले पनि आफ्नै पेसागत धर्म अर्थात् गीतसंगीतमा नै व्यस्त रहने गरेको गर्बुजाले बताए ।

सरल, मिलनसार र हसिला गर्बुजाले म्याग्दीको पहिचानलाई समेत चुलीमा पु¥याइदिएका छन् । उनका शब्द–शब्द र आनिबानीमा म्याग्देलीपन छचल्किने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

विज्ञापन