सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी महारानीले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम आश्रममा रहेका जेष्ठ नागरिकलाई दोसल्लाले सम्मान र भोजन गराएको छ ।

महिलाहरु आवद्ध रहेको क्लवकी अध्यक्ष संगिता श्रेष्ठले स्वर्गीय आमा सुकमायाँ श्रेष्ठको दशमीको पुन्यतिथिको अवसर पारी क्लवमार्फत सहयोग गर्नुभएको हो ।

आश्रममा आयोजित कार्यक्रममा गलेश्वरधाम अन्नदान क्षेत्रका अध्यक्ष भिमनाथ पराजुली, गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका कार्यवाहक अध्यक्ष बमबहादुर पुन, लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि १ नेपालकी कलस्टर प्रमुख सुनिता केसी, गलेश्वर क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ५५ बृद्धबृद्धालाई भोजन सहित दोसल्ला वितरण गरिएको कार्यक्रम संयोजक शिला श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अवसरमा ममता, निस्वार्थ प्रेम र सन्तानको उज्ज्वल भबिष्यको लागि दिनरात नभनी त्याग गर्ने आमाबुबाको सम्मानमा यस्ता कार्यक्रमले धेरै सन्देश दिने अन्नदान क्षेत्रका अध्यक्ष पराजुलीले बताउनुभयो । त्यस्तै क्लव अध्यक्ष श्रेष्ठले भविस्यमा पनि निरन्तर सामाजिक तथा मानवीय सेवामा सक्रिय हुने प्रतिबद्धता जनाउनुभएको थियो ।

साहाराबिहीन हुने जेष्ठ नागरिकको संख्या प्रतिदिन बढ्दै गएको अवस्थामा आमाबुबाप्रतिको सम्मान र संरक्षण आवश्यक रहेको बताइएको थियो ।

कार्यक्रमको सञ्चालन क्लवकी सचिप चन्द्रा घले गुरूङले गर्नुभएको थियो । आश्रममा बस्ने बृद्धबृद्धाले गलेश्वर मन्दिरभित्र भजनकृतन सहित धार्मिक कार्यमा समेत सहयोग गर्ने गरेका छन् ।

Leave a Reply