OLYMPUS DIGITAL CAMERA

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा बुधवारदेखि शुक्रवार रातीसम्म गाउँमाथिबाट आएको पहिरोले १० जना कृषकको खेत पुरिदिएको छ ।

पहिरोका कारण लहलहै धान झुल्ने खेत बगरमा परिणत भएपछि खबराका किसानहरु चिन्तित छन् ।
पहिरोले स्थानीय राजकुमार घिमिरे,चन्द्रबहादुर घिमिरे,करुणा कार्की,राजिब घिमिरे,आविष्कार घिमिरे,विक्की घिमिरे,कृष्ण सापकोटा,मनोज घिमिरे, सुदिप जिसी लगाएतका कृषकको धानखेत,कोदोवारी र केराको बगैंचा पुरिदिएको छ ।

गाउँको शिरानमा रहेको अन्तरे भीरबाट खसेको पहिरोले उव्जाउ हुने जग्गा पुरिदिए पछि आफूहरु चिन्तित बनेको पीडितहरुले बताएका छन् । पहिरोले खबरा सानो गैराको २ सय रोपनी भन्दा बढी खेतीयोग्य जमिन पुरिदिएको पीडित राजकुमार घिमिरेले बताए ।

पहिला खेत,बारी र केराको बगैंचा भएको ठाउँमा अहिले पहिरोले बगर बनाएको छ । धानखेतको बीचभागबाट खोला बगेको छ । जमिन कटान गरेर गाउँतर्फ पहिरो सोझिएपछि ३ वटा घर जोखिममा परेका स्थानीय ओमकार घिमिरेले बताए ।

पहिरो आउने क्रम अझै जारी रहेको छ । पहिरोको त्रासले स्थानीय रातको समयमा जाग्राम बस्ने गरेका छन्। पहिरोले पुर्याएको क्षतिको विवरण अहिलेसम्म संकलन गरिएको छैन ।

बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले क्षतिको विवरण संकलनका लागि वडासचिव राजराम सापकोटालाई पठाएको बताए । उनले पहिरोले खबराका किसानहरुको अन्नवाली सहितको खेतवारी पुरिदिएको बताउँदै क्षतिपूर्तिका लागि नगरपालिका लगाएतका सम्वन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply