म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलित फोहोर बेनी नगरपालिकाले सडकमै फाल्दा दुर्गन्ध फैलिएको छ ।

बेनीबजार, गलेश्वर तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोरलाई बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरोमा सडक नजिकै फाल्ने गरिएको छ । फोहोर सङ्कलन गरी सडक आसपासमै जलाउँदा आसपासका बस्तीमा समेत दुर्गन्ध फैलिएको हो।

सडक किरानमै फोहोर फाल्ने गरिएको छ ।‘सडकको माथिल्लो भागमा पनि फोहोर फालिएको छ,‘फोहोरले जिल्लाको नकरात्मक सन्देश प्रवाह भएको छ’ स्थानीय यूवा इन्द्र बरुवालले भन्नुभयो। फोहोर ब्यवस्थापनको जिम्मा पाएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालिले फोहोर बाटोमै फाल्ने गरेको बताउनुभयो ।

कुहिने, नकुहिने र अस्पतालजन्य गरी फोहोरलाई तीन खण्डमा वर्गीकरण गरेर नगरको फोहोर संकलन गर्ने गरेको छ । फोहोरलाई सडकमै फाल्दा सवारीसाधन दुर्घटनाको समेत सम्भावना बढेको गुनासो आएकाले तत्काल ब्यवस्थापन गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत छवि सुबेदीले बताउनुभयो।

‘निर्देशनको पालना नगरे कारवाही हुन्छ,‘मापदण्डभित्र रहेर फोहोर ब्यवस्थापन गर्नुपर्छ’ सुबेदीले भन्नुभयो । उहाँले फोहोर संकलन तथा ब्यवस्थापनमा नगरपालिकाले ४४ लाखको लागतमा संरचनाना बनाएकाले त्यसको प्रयोगमा थप निगरानी गर्ने बताउनुभयो ।

त्यस्तै उपकरण विग्रिएकाले बजारमा दुईतिनदिन फोहोर संकलनमा समस्या हुनसक्ने भएकाले मर्मतका लागि प्रालिमार्फत पोखरा पठाइएको नगरपालिकाले जनाएको छ । बेनी बजारमा दैनिक औद्योगिक ३, घर तथा पसलबाट ५ टन गरी दैनिक ८ मेट्रिक टन फोहोर निस्कन्छ।

Leave a Reply