निबन्धलेखन प्रतियोगितामा सहभागी भई विजेता विद्यार्थीहरुलाई सोमबार म्याग्दीको बेनीमा पुरस्कार वितरण भएको छ । बेनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७७ को अवसरमा आयोजित निबन्धलेखन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

‘कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको प्रभाव र न्युनीकरणका उपाय’ विषयक निबन्धलेखन प्रतियोगितामा सहभागी भई माध्यमिक विद्यालयतर्फ प्रकाश मावि बेनीका सभन मल्ल प्रथम, बेनी सामुदायिक माविका अनिमा शर्मा द्वितीय र न्यु वेष्ट प्वाइन्ट आवासीय माविका समुन्द्र भण्डारी तृतीय भएका थिए । उनीहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।यसैगरी ‘विद्यालय शिक्षामा अभिभावकको भूमिका’ विषयक निबन्धलेखन प्रतियोगिताको आधारभूत तहतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्ययनरत अनुभूति पौडेल प्रथम, न्यु वेष्ट प्वाइन्ट आवासीय माविका दिक्षित जिसी द्वितीय र बालमन्दिर आधारभूत विद्यालयका हिरा नेपाली तृतीय भएको आयोजकले जनाएको छ । उनीहरुलाई भने क्रमशः नगद पाँचहजार, तीनहजार र दुईहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । विजयी विद्यार्थीहरुलाई बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले प्रमाणपत्र र उपप्रमुख सन्जु बरुवालले नगद रकम हस्तान्तरण गरेका थिए ।

विजेता विद्यार्थीलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख श्रेष्ठले विभिन्न समयमा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउनुपर्नेमा जोड दिएका छन् ।

बेनपाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शिवप्रसाद रेग्मी, स्रोतव्यक्ति जयराम सुवेदी, सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रम शिक्षा अधिकृत अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply