केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिनुभएको छ ।

यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply