बाथ रोगबाट ग्रसित म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँकी १६ बर्षिया कोपिला पुनको उपचारमा कतारमा कार्यरत कुहुँ खानीगाउँका मनोज बानियाँको पहलमा आर्थिक सहयोग जुटेको छ ।

पुनको उपचारमा बानियाँ कार्यरत कम्पनीका नेपालीले १८ हजार ४०६ रुपैयाँ राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीमार्फत हस्तान्तरण गरिएको हो ।

मणिपाल अस्पतालमा उपचार गराइरहेको अवस्थामा आर्थिक अभाव भएपछि घर फर्किएकी पुनको समस्याका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि सहयोग जुटाएको बानियाँले बताउनुभयो ।

‘सानो सहयोगले उपचारमा केही सहज हुन्छ भन्ने अपेक्षा गरेका छौ,‘आर्थिक अभावकै कारण उपचार रोकिएको समाचार सुन्दा दुख लाग्यो’ बानियाँले भन्नुभयो ।

सहयोग रकम हस्तान्तरणको क्रममा कोपिला पुन बचाउ अभियानका एक सदस्य समेत रहनुभएका राष्ट्रिय जनजागृति माविका प्रअ राम्जालीले जटिल रोगसँग लडिरहेकी पुनको उपचारसँगै कक्षा ११ मा अध्ययन गर्ने चाहना समेत रहेकाले थप सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

पूर्णगाउँमा सुकुम्बासी जस्तै जीवन विताइरहेका पीडित पुनका बुबा बलबहादुर पुनको आर्थिक अवस्था निकै कमजोर छ । गाउँकै विपन्न बल बहादुरको ३ छोरा, २ छोरीमध्ये कोपिला कान्छी बहिनी हुन् ।

Leave a Reply