म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ

करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
शेरचनले दुई दिनदेखि मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको बताए । उनले भने मानिस आउजाउ गर्ने काठको अस्थायी पुल (साँघु) बनाएका छौँ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुस्ताङका बगैँचामा स्याउ टिप्न शुरु भएको छ । यसैगरी ढुवानी र अत्यावश्यक कामका लागि आवतजावत पनि प्रभावित भएको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित भएको छ । बिरामीलाई अस्पताल लैजान महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ ।

सडक मर्मत गरी यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो ।

असार २६ गते रघुगङ्गा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र चालू अवस्थामा रहेका दुई वटा मोटरेबल पुलसहित रुप्सेमा सडक बगाएको राससले लेखेको छ ।

Leave a Reply