कोरोना भाइरसको सम्भावित जोखिमका बिच पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा मेला सञ्चालन गर्ने आयोजकलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ ।

सरकारले जारी गरेको जनस्वास्थ्य निर्देशिकाको उल्लंघन गरी भिडभाडमा मेला सञ्चालन गरेको भन्दै ताकमको सफल टोल सुधार क्लवका तीन जना अगुवालाई जनही १ हजारको दरले जरिवाना तिराइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

‘खेलकुद प्रतियोगिताका बारेमा कुनै जानकारी भए तत्काल खवर गर्नु अनुरोध गछौं,‘यस्ता गतिविधि अनुकुल समयमा गर्न सकिने भएकाले अहिले पूर्णरुपमा कोरोनाको मापदण्ड पालना गराउन प्रतिबद्ध छौ’ कुँवरले भन्नुभयो ।

संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन उल्लंघन गरेको देखिएकाले मेला सञ्चालनका अगुवालाई नै कारवाही गरिने बताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सरकारको निर्देशनलाई उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो । ‘ग्रामिण क्षेत्रमा लुकिछिपी खेलकुद गतिविधि सञ्चालन भइरहेको गुनासो आइरहेको छ,‘सबै सरोकारवाला निकायको साथ चाहिन्छ’ प्रजिअ अधिकारीले भन्नुभयो ।

सरकारी नियम विपरित कुनै किसिमका क्रियाकलाप गर्ने सामाजिक संघ संस्थालाई निलम्बन र खारेजी समेत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसबीच ताकमको मेलामा स्थानीय प्रहरी चौकीको समेत कमजोरी देखिएको छ । यस अगाडी प्रहरीले बेनी नगरपालिकाको एक गाउँमा हुन लागेको फुटबल प्रतियोगिताको पूर्व सूचना प्राप्त गरेपछि स्थगित गर्न आयोजकलाई निर्देशन दिएको थियो ।

यता गाउँपालिकाको केन्द्रमा ब्याडमेन्टिन, ग्रामिण क्षेत्रमा फुटबल र भलिबल प्रतियोगिता समेत हुने गरेको गुनासोसँगै प्रहरीले इलाका प्रहरी कार्यालय, चौकीमार्फत यूवा क्वलव, आमा समुहलाई समेत गतिविधि रोक्ने अभियानमा सघाउने र स्थानीय जनप्रतिनिधिलाई समेत निर्देशिकाको कडाईका साथ पालना गराउन अपिल समेत गरेको छ ।

Leave a Reply