निरन्तरको वर्षासँगै गएराति उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानाको रुप्सेमा बाढीले वितण्डा मच्चाएको छ। मध्यरातामा उर्लिएर रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि बेनी–जोमसोम कोरला सडकको सिधा यातायात अवरुद्ध भएको छ ।

रुप्से आसपासको करिब दुई सय मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले ठूलो क्षती पुर्याएकाले करिब एक सातासम्म सडक सञ्चालनको सम्भावना नरहेको आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले बताउनुभयो ।

‘रुप्सेले खोंच बनाएको छ,‘मर्मत गरी सञ्चालनको अन्तिम तयारीमा रहेको अवस्थामा रातीको बाढीले बगायो’ शेरचनले भन्नुभयो ।

उहाँका अनुसार रुप्से झरनाको तल्लो क्षेत्रमा खोंच बनाएकाले थप कटान र क्षतीको जोखिम रहेको छ । अस्थायी काठको फड्के बगाएपछि रुप्से–काभ्रे जोड्न स्थानीयको सिधा सम्पर्कबिच्छेद भएको छ ।

मंगलबार राती झण्डै कालिगण्डकीको बाहब रोक्ने गरी रुप्सेमा बाढी आएको थियो ।काठको फड्के समेत बगाएपछि दानाकै काभ्रे र हिमाली जिल्ला मुस्ताङ जाने सर्वसाधारणले अन्नपूर्ण–४ नारच्याङको घराप हुदै करिब २ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता भएको छ । फड्को आसपासका क्षेत्रमा खोलाले कटान गरेको छ ।

गएको साउन ५ गते रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ निर्यातमा समस्या भएको छ । स्याउ किसानले टिपेर तयारी अवस्थामा राखेको स्याउ लिन गएका ठूला मालबाहक ट्रक समेत बाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन नहुदाँ भरियाको प्रयोग गरेर समेत ढुवानीमा सहस हुने भएकाले सडक सञ्चालन भएपछि मात्रै मुस्ताङबाट स्याउ निर्यात हुने भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिना यता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन् ।

Leave a Reply