---Advertisement---

प्रकृतिको अनुपम उपहार, खयरबराह भ्याली

On: September 16, 2020 10:03 AM
Follow Us:

जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखको खयरबराह भ्याली प्रकृति दर्शन र आध्यात्मिक चिन्तनको अनुपमस्थल बन्दै गएको छ।

समुद्री सतहदेखि चार हजार, आठ सय मिटर उचाइमा रहेका यो भ्याली जति दुर्गम छ त्यत्तिकै पावन र चित्ताकर्षक रहेको  म्याग्दीका पर्यटकीय एवम् धार्मिक स्थलहरुको भ्रमणमा निस्किएका नविन आनन्द योग केन्द्र म्याग्दीका योग गुरु नवीन जुग्जालीले बताए। ‘यहाँबाट देखिने प्रकृतिको वर्णन गरीसाध्य छैन,यस्तो अनुपम ठाउँ आजसम्म मैले कतै देखेको थिएन, जुग्जालीले भने।आकाशै छुन लागेजस्तो मनमोहक खर्कको नजिकै रहेको मन्दिर र मन्दिरको नजिकै रहेको खयरबराह ताल यहाँका मुख्य आकर्षण हुन्। त्यसका साथै निलो आकाशको तलपट्टी चारैतिर फैलिएका डाँडाकाडा,नजिकै देखिने हिमश्रृङ्खला,खर्कमा चर्दै गरेका भेडाको बथान, पाखैभरी फुलेका विभिन्न प्रजाति र रङका वनफूल,झरना आदिले यहाँ पुग्ने जोसुकै पनि मुग्ध हुन्छन्।

खयरवराही मन्दिरको एउटा अनौठो विशेषता रहेको छ। आफूले गरेको भाकल मन्दिरनजिक रहेको तालमा त्यहाँ रहेका पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा बर माग्ने चलन रहेको छ। बर लिएपछि कसैसँग नबोलेर धोती खोलासम्म मन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ। आफ्नो मनकामना पुरा भएपछि पुनः मन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ। खयरबराही मन्दिर तथा आसपासका रहेका ४ वटामन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन्। यहाँ जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। म्याग्दी  सदरमुकाम बेनीदेखि करिव चार घण्टाको कच्चि मोटरबाटाको यात्रापछि मन्दिर नपुग्दासम्म उकालै उकालो यात्रा गरेर खयरबराही पुग्न सामान्य मानिसलाई करिब दुई दिनको यात्रा गर्नुपर्छ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।