गएको असार २५ गते भीषण वर्षासँगै आएको बाढीपहिरोमा परेर घरबारविहिन एक परिवारलाई राहत सहयोग भएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले बुधबार धवलागिरी गाउँपालिका–६, मराङका पहिरोपीडित हुलाक प्रतिनिधि छिमा पुनलाई नगद ३० हजार रुपैयाँ राहत सहयोग गरेको हो ।

कार्यालयको पहलमा जिल्ला, इलाका र अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुमार्फत राहत रकम सङ्कलन गरी पहिरोपीडित पुनलाई सहयोग हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।

बाढीपहिरोले घर बगाउनुका साथै ठूलो क्षति पु¥याएको पीडित पुनको परिवारलाई अलिकति भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको कार्यालय प्रमुख एवं जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले बताइन् ।

उक्त राहत रकम पहिरोपीडित पुनलाई कार्यालय प्रमुख हुलाक अधिकृत श्रेष्ठ र अन्य कर्मचारीहरुले हस्तान्तरण गरेका थिए ।

राहत रकम बुझ्दै पुनले आफूलाई पीडा परेको समयमा सहयोग गरेकोमा कार्यालय परिवारलाई धन्यवाद दिँदै पहिरोले पु¥याएको क्षतिको जानकारीसहित आफूहरु अहिले माइतीमा बसेको बताएकी छिन् ।

हुलाक कार्यालयले विभिन्न समयमा समस्या तथा दुःख, पीडामा पर्ने आफ्ना कर्मचारीहरुलाई विगतदेखि नै आर्थिक सहयोग गर्दै आइरहेको छ ।

बाढीपहिरोले अतिरिक्त हुलाक कार्यालय मराङमा रहेको ५० हजार रुपैयाँ बराबरको जिन्सी सामान समेत नष्ट गरेको छ ।

पहिरोले कार्यालयभित्र रहेका टेबुल, कुर्सी, दराजसहितका फर्निचरका सामान ध्वस्त बनाउनुका साथै मराङ, मल्कबाङ र कुईनेमङ्गलेका लागि पठाइएको छाता, झोला, वर्षादी, पाँचसय रुपैयाँ मूल्य बराबरको टिकट तथा क्यास बाकसमा क्षति पु¥याएको हुलाक अधिकृत श्रेष्ठको भनाइ छ ।

Leave a Reply