देशैभर कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको समयमा हिमाली जिल्ला म्याग्दी भने कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको कोरोना विशेष आईसोलेसन कक्षमा उपचार गराइरहेका संक्रमित युवाले कोरोनालाई जितेसँगै जिल्ला आजदेखि सक्रिय कोरोना संक्रमणमुक्त भएको हो ।

गएको भदौ १ गते पोखराबाट तालिम सकेर जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यक्षेत्र तोकिएका १९ वर्षीय एक युवाले कोरोना जितेसँगै म्याग्दी जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ती युवामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भदौ ४ गते स्वाब सङ्कलन गरी परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । पछिल्लोपटक यही भदौ २८ गते सङ्कलन गरेको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई विदाई गरिएको छ ।

बुधबार संक्रमित युवासहित १७ जनाको स्वाबको नतिजा नेगेटिभ आएपछि म्याग्दी जिल्ला कोभिड–१९ संक्रमित सक्रिय बिरामीमुक्त बनेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए । यसैबीच कोरोना जितेका १९ वर्षीय युवालाई बुधबारै आईसोलेसन अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खादा ओढाएर तथा बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर लामिछानेले डिस्चार्ज प्रमाणपत्र हस्तान्तरण गरी विदाई गरिएको थियो । उनलाई विदाई गर्दै प्रजिअ अधिकारी र डा. लामिछानेले आईसोलेसनबाट विदाई भए पनि आगामी एक हप्तासम्म आवश्यक सुरक्षा सतर्कतासहित बस्न सुझाव दिएका छन् ।

विदाई कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँबर, जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का सदस्य सुरत केसी लगायतको सहभागिता रहेको थियो । म्याग्दीमा हालसम्म ४९ जना संक्रमित भएकोमा सबै ४९ जनाले नै कोरोना जितेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो । उक्त संख्यालाई पनि गणना गर्दा भने जिल्लामा ५० जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply