भूजीखोलाको बाढीले ढोरपाटनबासीमा पुर्‍याएको चोट ओभाउन हुन नपाउँदै जैमिनी नगरपालिकामा अर्को विपद् आइलाग्यो । आइतबार र सोमबार गरी जैमिनीका तीन जनाले पहिरोमा परी ज्यान गुमाए । थप स्थानीयहरु घरबारविहीन भएका छन् भने विद्यालय र सडक भत्किएर समस्यामा परेका छन् ।

त्यसको दुई दिनअघि बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिराले ३५ वर्षीय युवकको ज्यान लियो । भदौ २४ गते ताराखोलाबासीलाई बाढीले सतायो । भाग्यवश मानिसहरु त जोगिए तर घर, झोलुङ्गे पुल, लघुजलविद्युत् आयोजनालगायतमा क्षति पुग्यो । यी भौतिक संरचनाको क्षतिबाट उनीहरु अहिले पनि समस्यामै छन् ।

भदौ १७ मा भूजीखोलामा आएको बाढीले त कैयौँ वर्षयताकै ठूलो प्राकृतिक विपत्ती निम्तायो । बाढीमा परी २२ जनाको ज्यान गयो, १६ अझै बेपत्ता छन् । सयौँ परिवारको उठिबास भएको छ । बालबालिका अभिभावकविहीन बनेका छन् । भौतिक संरचनामा पुगेको क्षतिको कुनै लेखाजोखा छैन ।

वर्षेनी पहिरोका छिटपुट् घटना भइरहने निसीखोला गाउँपालिकामा गत साउन १३ र ३० गतेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भयो । साउन १३ मै तमानखोला गाउँपालिकास्थित एकाघरका दुई बालबालिकाको पनि पहिरोले नै ज्यान लियो । ती स्थानहरुमा पनि भौतिक संरचनाको क्षति भएको छ जसका कारण नागरिक समस्यामा परेका छन् ।

बागलुङ नगरपालिका पनि यो वर्ष विपद्बाट जोगिन सकेन । गत साउन १० गते बागलुङ–१ निरयघाटको पहिरोमा एक जनाले ज्यान गुमाउनुप¥यो भने अर्का एक जनाको अवस्था अझै पनि अज्ञात छ ।

गत असार ६ गते काठेखोला गाउँपालिका–४ तङ्ग्राममा खसेको पहिरामा परी ३८ वर्षीया महिलाले ज्यान गुमाएको घटनाबाट शुरु भएको बाढीपहिराको विपद्बाट यो वर्षायाममा जिल्लाले ठूलो जनधनको क्षति व्यहोर्नुपर्‍यो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तका अनुसार गत साउनयता प्राकृतिक विपद्का घटनामा परी ३६ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा चट्याङ लागेकासमेत छन् । गत आवमा भने प्राकृतिक विपद्का कारण जम्मा ९ जनाले ज्यान गुमाउनुपरेको थियो ।

यो वर्ष अधिक वर्षा भएका कारण बाढीपहिराका घटना धेरै भए । शरद ऋतु आउन लागेपनि वर्षात् रोकिने छाँटकाँट छैन । मनसुन सक्रिय नै रहेकाले अझैपनि जोखिमको स्थिति छ । नेपालमा सामान्यतया अंग्रेजी महिना जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

भूजीखोलाको बितण्डा
ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारले आफ्नो ५५ वर्षे उमेरमा भूजीखोला त्यसरी उर्लेको कहिल्यै देखेका थिएनन् । उनी सानो छँदा बाउबाजेले ‘बन चलेको’ कुरा सुनाउँथे । खोला तिरमा नजानु भन्थे ।

पहिरो खस्नुलाई उहिलेउहिले ‘बन चल्ने’ भनिन्थ्यो । आज उसैगरी खसेको पहिराले भूजीखोला थुनिँदा बाढीको रुप लियो । बितण्डा मच्चायो । “कसैले सोच्दै नसोचेको घटना भयो, अहिले बल्ल खोला तिरमा घर बनाउनु गल्ती भयो भन्ने सबैलाई परेको छ”, अध्यक्ष सुनारले भने ।

व्यवसाय गर्न र सडकको सुविधाका कारण मानिसले खोलाछेउमा घर बनाएको उनको भनाइ छ । सालझण्डी–ढोरपाटन सडक भूजीखोलाको किनारैकिनार अघि बढेको छ । अध्यक्ष सुनारले कतिपय मानिस वस्तुभाउ लिएर बुकी गएका कारण बाढीबाट बच्न सफल भएको बताए ।

“घरका सबै एकैठाउँ भएका भए धेरै ठूलो मानवीय क्षति हुन्थ्यो”, उनले भने । त्यसक्षेत्रका अधिकांश मानिस हिउँदमा बोबाङ र वर्षायाममा ढोरपाटन बसोबास गर्छन् ।

वडा नम्बर ९ को देउराली नजिकैबाट खसेको पहिरोले थुनिएको भूजीखोला एक्कासी फुटेर बाढी आउँदा तटीय क्षेत्रका बस्ती बगाएको हो । लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल र फल्लेघरमा ठूलो क्षति पुगेको छ ।

बाढीमा ज्यान गुमाउने २१ जना र बेपत्ता १६ जना वडा नम्बर ९ कै हुन् । मृतकमध्ये एक जना युवक गलकोट नगरपालिकाका हुन् । उक्त वडाका १ सय ३ घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष हरीबहादुर घर्तीले बताए । यस्तै वडा नम्बर ८ का ८ घर पूर्ण र ९ घर आंशिक क्षति छ ।

बाढीबाट वडा नम्बर ५, ६ र ७ पूरै प्रभावित छन् । सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायत सयौँ भौतिक संरचना क्षतिग्रस्त छन् । हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

कष्टकर दैनिकी
बाढीग्रस्त क्षेत्रका बासिन्दा दुई सातादेखि अन्धकारमा छन् । बिजुली अभावमा मोबाइल टावर बन्द हुँदा सञ्चार सेवासमेत बिच्छेद छ । परिवारका सदस्य र आफन्तजनसँगको सम्पर्क टुटेको छ । घरबास गुमेपछि टहरा, गोठ र विद्यालयमा रात गुजारीरहेका छन् ।

कोहीले आफन्तकोमा आश्रय लिइरहेका छन् । सामुदायिक स्वास्थ्य एकाइसमेत बाढीले बगाएपछि गाउँलेले सामान्य औषधिसमेत पाउन सकेका छैनन् । लाकुँरीबोटका भीमबहादुर सुनार आठजनाको परिवारसहित विद्यालयमा बसीरहेका छन् ।

“पढाइ सुरु भएपछि हामीले विद्यालय छाड्नुपर्छ त्यसपछि कहाँ जाने बालबच्चाको बिचल्ली हुने भयो”, सुनारले भने, “मेरो घर, पसल, गोदाम सबै बाढीले लग्यो ।” उनले झण्डै एक करोड बराबरको क्षति भएको बताए ।

सरकारी निकाय र विभिन्न संघसंस्थाले दिएको राहतले तत्काललाई हातमुख जोड्न समस्या नभएपनि बाढी प्रभावितलाई स्थायी बासको चिन्ता छ ।

बाढीले उजाडेको ठाउँ देखाउँदै लालमती घर्तीले भनिन्, “ल हेर्नुस् घरको निशानसमेत छैन, केही दिन देवरको घरमा बस्यौँ, अहिले भैँसी गोठलाई बारेर बसेका छौँ ।” उनको परिवारमा छ जना सदस्य छन् । एउटै कोठामा कोचिएर सुत्नेपर्ने बाध्यता छ । घर्तीले छिटो घर बनाइदिए आफूहरुलाई ठूलो राहत मिल्ने बताइन् ।

“सरकारले बनाइदिने भन्ने कुरा पनि आएको छ, नेताहरु आएर पनि बोल्नुभएको छ, खोइ कहिलेसम्म बन्छ हेरौँ”, उनले भनिन् ।

बाढी प्रभावितलाई छिट्टै घर
हिउँद लाग्नासाथ क्षतिग्रस्त घरको पुनःनिर्माण सुरु गरिने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । “राहतबाट कति उठ्छ त्यसमा नगरपालिकाले थपेर घर बनाइदिन्छौँ, जस्ताको छाना हाल्ने जिम्मा मेलै व्यक्तिगत रुपमा लिइसकेँ”, उनले भने ।

त्यस क्षेत्रमा एकीकृत बस्ती निर्माणको सम्भावना नरहेकाले व्यक्तिले उपलब्ध गराउने जग्गामा घर बन्ने प्रमुख नेपालीको भनाइ छ । जग्गै नभएका व्यक्तिलाई नगरपालिकाले व्यवस्थापन गरिदिने उनले बताए ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि बाढी प्रभावितको घर पुनःनिर्माणमा यथोचित सहयोगको प्रतिबद्धता जनाएका थिए ।

संघ र प्रदेश सरकारको सहयोग आउन प्रकृयागत रुपमा समय लाग्ने देखिएकाले नगरपालिकाकै तर्फबाट घर पुनःनिर्माणको काम अघि बढाइने प्रमुख नेपालीले बताए । हालसम्म झण्डै ७० लाख रुपैयाँ नगद राहत उठेको नगरपालिकाले जनाएको छ ।

बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देश–विदेशमा सहयोग अभियान चलाइएको छ । लाखौँ मुल्य बराबरका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका राहत सामग्री सङ्कलन र वितरण भइरहेको छ ।

पुनःनिर्माणको पर्खाइ
मानवीयबाहेक प्राकृतिक विपद्बाट जिल्लामा हुने भौतिक क्षतिको यकिन विवरण कसैसँग छैन । ढोरपाटनसँगै जिल्लाका दशै स्थानीय तहले यो वर्ष साना–ठूला विप्दका घटनाको सामना गर्नुपर्‍यो । एकातिर कोरोनाले जनजीवन आक्रान्त पारेका बेला प्रकृति पनि निष्ठुर भइदियो ।

घरसँगै बाढीपहिरोमा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा राज्यको बेलैमा ध्यान पुग्नुपर्ने आवाज उठेको छ । पुनःनिर्माण अगाडि नबढे झन् आपत आइलाग्ने र विकासमा पनि झन् पछि पर्ने चिन्ता स्थानीयवासीमा छ । बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले भूजीखोलाको बाढीले क्षति पुर्‍याएका संरचनाको पुनःनिर्माणमा पहल अघि बढाइएको बताए ।

“गृह, उर्जा, भौतिकलगायत विषयगत मन्त्रालयमा पुगी म आफैँले मन्त्रीज्यूहरुसँग कुरा राखेको छु”, उनले भने, “क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सरकारी प्रतिबद्धता आएको छ, काम छिट्टै अघि बढ्छ ।” उनले बाढीले भत्काएको सडक खुलाउन सालझण्डी–ढोरपाटन आयोजनाले काम थालिसकेको बताए ।

बाढीले बुर्तिबाङ-ढोरपाटन खण्डको झण्डै १० किमि सडक बगाएको छ । बाढीबाट दुई विद्यालय, एक सामुदायिक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल र ११ लघुजलविद्युत् आयोजनालगायतमा क्षति पुगेको छ । रासस

Leave a Reply