कोरोना भाइरस संक्रमणका कारण म्याग्दीमा ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक सवारी बिहीबार साँझदेखि संचालनमा आएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबाट म्याग्दी कोरला यातायात प्रालिको बस बेनीबाट साँझ ६ बजे काठमाण्डौका लागि प्रस्थान गरेको ब्यवसायीले बताएका छन् ।

कोरोनाको जोखिमसँगै सरकारले गएको चैत्र महिनामा लकडाउन गरेसँगै ग्यारेजमा थन्किएका बसलाई मर्मत तथा जनस्वास्थ्यको मापदण्ड पुरा गरी बिहिबारदेखि सञ्चालन गरिएको कोरोला यातायातका सञ्चालक मोहन केसीले जानकारी दिनुभयो ।

‘तोकिएको सुरक्षा मापदण्ड प्रयोग गरेका छौ,‘यात्रुको संख्या भन्दा सुरक्षालाई ख्याल गरेका छौ’ केसीले भन्नुभयो ।उहाँका अनुसार ३० सिट क्षमताको डिलक्स बसमा १५ जना यात्रुलाई टिकट वितरण गरिएको छ ।

यात्रुको सुविधाका लागि काउन्टरमा भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्ने मोवाईल वा अनलाइनबाटै टिकट बुकिङलाई समेत प्राथमिकता दिइएको छ ।

सरकारले साविकको भाडामभन्दा थप ५० प्रतिशत भाडा यात्रुसँग लिन पाउने जनाएको छ । म्याग्दीबाट काठमाण्डौ जान तत्काल प्रति टिकट १५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच तत्काल दरबाङबाट सिधा काठमाण्डौ बस सेवा सञ्चालन गर्न ठाउँठाउँमा अवरुद्ध भएको सडकले समस्या देखिएको छ ।

म्याग्दी यातायात प्रालिका अध्यक्ष लालबहादुर थापाले बस सेवा सञ्चालनको तयारी अवस्थामा रहेपनि केही स्थानमा सडक मर्मतको आवश्यकता रहेकाले तत्काल सम्बन्धित निकायको ध्यानार्कषण गराइएको छ ।

एक जना मात्रै यात्रु लिएर बेनीबाट बस नेपालगञ्ज प्रस्थान
सरकारले सार्वजनिक यातायात सञ्चालन खुला गरेसँगै बिहीबार म्याग्दीको सदरमुकाम बेनीबाट प्रदेश नं ५ को नेपालगञ्जमा एक जना मात्रै यात्रु लिएर बस प्रस्थान गरेको छ ।

लामो दुरीका यात्रु बोकेर दिउँसो २ बजे धौलागिरी यातायात समितिको ग १ ख ७७७६ नं को बसका चालक देवेन्द्र कुँवरले १ महिला र ४ पुरुष लिएर गएका थिए । जिल्ला ट्राफिक कार्यालय बेनीमा प्रहरी नायव निरिक्षक मिनबहादुर खड्काका अनुसार पाँच यात्रु मध्ये लामो दुरीका एक जना मात्रै रहेको बताउनुभयो ।

लामो समयपछि पहिलो दिन भएर पनि हुनसक्छ,‘उक्त बसमा सवार चारजना छोटो दुरीका यात्रु हुन्’ खड्काले भन्नुभयो ।

कोरोना भाइरसको त्रासका बिच पहिलो दिन लामो दुरीका बसले यात्रु पाएनन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै सार्वजनिक सवारी बन्द भएका थिए । ग्यारेजमा थन्किएर बसेका बसलाई आवश्यक मापदण्डको प्रयोग गरी सञ्चालनमा ल्याइएको थियो ।

 

Leave a Reply