जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले  कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी नयाँ निर्देशन जारी गरेको छ।

सिसिएमसीका संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारीले छोटो, मध्यम र लामो दुरीमा जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने सर्वजनिक सवारीसाधनमा सवार यात्रु, यातायात ब्यवसाय, होल्डिङ सेन्टर र स्थानीय तहमार्फत शुक्रबार देखि नै कार्यान्वयन गर्ने नयाँ मापदण्ड जारी गर्नुभएको हो ।

सरकारले सार्वजनिक यातायातको साधन खुल्ला गरेसँगै देशका विभिन्न जिल्लाबाट यात्रुबाहक बस सदरमुकाम बेनीमा प्रवेश गर्न थालेको अवस्थामा कोरोनाको ग्रिन जोन म्याग्दीमा संक्रमण फैलिन सक्ने सम्भावना धेरै भएकाले आदेशको प्रभावकारी कार्यान्वयनमा सघाउन समेत प्रजिअ अधिकारीले अनुरोध गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश

‘अब सरकारी संयन्त्रबाट मात्रै कोरोनाको संक्रमणबाट जोगिने अवस्था छैन्,‘सबै क्षेत्रबाट तोकिएको मापदण्डको कार्यान्वयन भएमा मात्रै जिल्लालाई कोरोनाबाट जोगाउन सकिन्छ’ प्रजिअ अधिकारीले भन्नुभयो।

बेनीअनलाइनसँगको छोटो संवादमा प्रजिअ अधिकारीले म्याग्दी जिल्लामा एक जना पनि संक्रिय कोरोना संक्रमति नभएको अवस्थामा कोरोनाको रेड जोन काठमाण्डौ, तराईका विभिन्न जिल्लाबाट सर्वसाधारण, विभिन्न नीजि तथा सामुदायिक विद्यालयका शिक्षकहरु आउन थालेकाले प्रवेशद्धारदेखि होम क्वारेन्टाइनसम्मको कार्यतालिकाको कडाईका साथ कार्यान्वयन हुने बताउनुभयो ।

जिल्लामा प्रवेश गर्नु अगाडी नै यातायात ब्यवसायीले स्वास्थ्य मापदण्डको प्रयोग गर्ने, विवरण लिने, जिल्ला प्रवेश पूर्व होल्डिङ सेन्टरमा जानकारी गराउने, जिल्लामा आएलगत्तै कतै घुलमिल नभई घरमा गएर १४ दिन बस्ने, घरमा एक्लै बस्ने ठाउँ नभए स्थानीय तहको क्वारेन्टाइनम बस्ने लगायतका मापदण्ड बनाइएको छ ।

‘कोरोनाको संक्रमणबाट जोगिन पहिला नागरिक नै सचेत हुनुपर्छ,‘अवको अवस्थामा जिल्लालाई सुरक्षित राख्न मापदण्डमा हेलचेक्राई गर्नुहुदैन’ प्रजिअ अधिकारीले भन्नुभयो । शुक्रबार म्याग्दीमा काठमाण्डौ, तराईका विभिन्न जिल्लाबाट सर्वसाधारण सहित पठनपाठनका लागि शिक्षक प्रवेश गरेका छन् ।

म्याग्दीमा हालसम्म ४९ जना संक्रमित भएकोमा सबै ४९ जनाले नै कोरोना जितेका छन् । एक प्रहरी बाहेक सबै विदेशबाट आएकामा संक्रमण देखिएकाले हालसम्म म्याग्दीमा समुदायस्तरमा कोरोना देखिएको छैन् ।

 

Leave a Reply