सरकारले लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको भोलीपल्ट म्याग्दीबाट छुट्ने लामो दुरीका बसमा यात्रा गर्ने यात्रुको संख्या न्यून रहेको छ । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार म्याग्दी कोरला यातायात प्रालिको गाडीमा काठमाण्डौका लागि म्याग्दीबाट ५ जना र पर्वतबाट ४ जना गरी ९ जनाले बाहिरिएका छन् ।

म्याग्दीबाट बिहिबार कोरलाको बसले १५ जना यात्रु लिएर गएको थियो । काठमाण्डौ सहित विभिन्न जिल्लामा छुट्ने धौलागिरी यातायात ब्यवसायी समितिको बसमा यात्रु पाएनन् ।धौलागिरीको बसले बिहिबार एक जना यात्रुलाई लिएर नेपालगञ्ज गएको थियो ।

ट्राफिक प्रहरीका प्रसनी गणेश श्रीषका अनुसार शुक्रबार विहान काठमाण्डौबाट १३ जना भित्रिएका थिए । ‘पहिलो दिन भएकाले पनि हुनसक्छ, विस्तारै यात्रुको चाप बढ्ने अनुमान गरेका छौ’ श्रीषले भन्नुभयो ।

चाडपर्वमा जिल्लामै भित्रिनेको संख्या बढ्ने भएकाले असोज र कात्तिक महिना बाहिरिने यात्रुको संख्या तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रुको टिकटबाट प्राप्त हुने शुल्कले समेत खर्च धान्न हम्मेहम्मे भएपनि अन्य यातायात ब्यवसायीले यात्रु तान्ने जोखिमले घाटा खाएर भएपनि सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको ब्यवसायीको भनाई छ ।

भित्रिने र बाहिरिने सवारीसाधनमा आउने यात्रुलाई आवश्यक माक्स, पञ्जा, स्यानेटाइजरको ब्यवस्थापन गर्नुपर्ने झन्झट समेत ब्यवसायीलाई छ । ‘यो अवस्थामा दुईसय प्रतिशत टिकटको मुल्य बढाएपनि घाटा नै छ,‘अलपत्र परेका यात्रुको सेवाका लागि बाध्य भएर सेवा दिनुपर्ने अवस्था छ’ एक यातायात ब्यवसायीले भने।

व्यवस्थित यात्रा गर्न सरकारले साविकको टिकटमा ५० प्रतिशत भाडा बढाउने निर्णय समेत गरेको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै सार्वजनिक सवारी बन्द भएका थिए । ग्यारेजमा थन्किएर बसेका बसलाई आवश्यक मापदण्डको प्रयोग गरी सञ्चालनमा ल्याइएको थियो ।

Leave a Reply