पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने रुम र धवलागिरि गाउँपालिकामा पर्ने मुदी गाउँ अहिलेसम्म पनि ढुङ्गेघरको गाउँ भनेर चिनिन्छन् । सडकको पहुँच पुगेपछि जताततै कंक्रिणको विल्डिङ ठड्याउने लहर चलेको समयमा गाउँघरमा पनि अव स्लेट ढुङ्गाले छाएका चिटिक्कका घरहरु देख्न हम्मे हम्मे पर्न थालेको छ।

तर,म्याग्दीको रुम र मुदीमा अहिलेसम्म कंक्रिणको विल्डिङ ठड्याउने रहर कसैमा देखिएको छैन । परम्परागत निर्माण सामाग्रीको प्रयोग गरी आधुनिक किसिमका घरहरु बनाउँदा यी गाउँको पहिचान जिल्लामा बेग्लै किसीमको रहेको छ ।रुम गाउँ स्लेट ढुङ्गा (घर छाउने ढुङ्गा) को खानी भएको गाउँ हो । करिब डेढ दशक अघिसम्म रुमको घर छाउनी ढुङ्गा म्याग्दीका विभिन्न गाउँहरुका साथै बागलुङ,पर्वत र पोखरासम्म पुर्याइन्थ्यो । ढुङ्गा माटाको घरमा ढुङ्गा कै छानो छाएर निर्माण गरिएका घर त्यो समयमा सम्पन्नता र सुविधाका पहिचान मानिन्थे ।वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले समेत अत्यन्त उपयोगि यस्ता घरहरु पछिल्लो समय कम हुँदै जान थालेका छन् । धनी र सम्पन्न व्यक्तिले पक्कीघर (ढलान घर) बनाउने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले जस्तापाताले छाएर घर निर्माण गर्ने क्रम बढेपछि ढुङ्गेघर अव दुर्लभ हुँदै जान थालेका हुन् ।

म्याग्दीमा गुर्जा,मुदी,रुम,ओखरबोट,झीँ,दोवा लगाएतका गाउँहरुमा बाख्लै ढुङ्गेघर रहेता पनि अन्य गाउँहरुमा भने कंक्रिण र जस्तापाताले छाएर घर निर्माण हुने क्रम तीब्ररुपमा बढेको छ ।

ढुङ्गेघरले वातावरणलाई सन्तुलित राख्नुका साथै गाउँको सौन्दर्यलाई समेत उजिल्याइदिने म्याग्दीको वन तथा वातावरणका विज्ञ चन्द्रमणि सापकोटाले बताए ।

Leave a Reply