धौलागिरि क्षेत्रको प्रकृति दर्शनका लागि उत्कृष्टस्थल मानिएको बेलढुङ्गाको शीर फुटेपछि पुर्ननिर्माणको गरिने भएको छ ।

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका-३ धम्जाको शीरमा अवस्थित बेलढुंगालाई नयाँ रुपका साथ पुर्ननिर्माण गर्ने गरी दुवै वडाका जनप्रतिनिधि सक्रिय भएका छन् ।

बेलढुंगाको विकासमा विगतमा बनाइएको योजनालाई यथावत राखेर भत्किएको स्थानमा पूर्ननिर्माणमा दुबै जिल्लाबाट आवश्यक बजेट विनियोजन गराउन पहल भइरहेको बेनपा–३ का वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।

‘भकिम्लीको शान बेलढुंगाको पुर्ननिर्माणको विकल्प छैन्,‘घुम्न आउने पर्यटकलाई पुरानै झल्को दिने गरी पुर्ननिर्माण गछौं,‘समयमै काम भएन भने पर्यटकको जनविश्वास घट्ने छ’ पुनले भन्नुभयो ।

बि.स २०७२ बैशाखको महाविनाशकारी भूकम्पबाट समेत जोगिएको चट्टानको बेलको आकारमा रहेको भाग भत्किएपनि पुर्ननिर्माण गरिएपछि धेरै पर्यटक एकैपटक भ्रमण गर्न मिल्ने स्थानीयको भनाई छ ।

बेनपा-३ भकिम्लीका अध्यक्ष पुन, काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले नयाँ संरचना सहित थप आकर्षक बनाउने दुवै जिल्लाका स्थानीय तह, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिलाई समेत बजेट माग गर्ने सहमति भएको थियो ।

बागलुङमा प्रदेश र संघीय सरकारबाट नयाँ बेलढुंगाको संरचनाका लागि २० लाखको मौखिक प्रतिबद्धता आएपनि म्याग्दीमा बेनी नगरपालिका र सांसदले हालसम्म प्रतिबद्धता नजनाएको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुने गरेको अवस्थामा सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि आन्तरिक पर्यटकको समेत घुईचो लाग्ने गरेको अवस्थामा बेल आकारको ढुंगा भत्किएपछि स्थानीयबासी निराश भएका थिए ।

पुर्ननिर्माणसँगै भ्यूटावर, सामुदायिक भवन लगायतका संरचना समेत बनाउने तयारीमा स्थानीय रहेका छन् ।

समुन्द्री सतहदेखि २ हजार ६ सय १८ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृखला,म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य,तीन दर्जन बढि गाउँहरु,बनजङ्गल,जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ।

करिब ५० लाखको बजेटमा पुर्ननिर्माणका साथै आवश्यक संरचना बनाउने र लक्षित बजेटको सीमामा बसेर समयमै बजेट प्राप्त भएमा तीन महिनाभित्र आवश्यक पूर्वाधार बनाउन सकिने भकिम्लीका जनप्रतिनिधिको भनाई छ ।म्याग्दीतर्फबाट बजेट विनियोजनमा विगतमा समेत कन्जुसाई हुने गरेपनि बागलुङले बेलढुंगालाई लक्षित गरी सडक तथा अन्य पूर्वाधारलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्ने गरेको छ ।

Leave a Reply