निरन्तरको वर्षापछि अन्नपूर्ण गाउँपालिका-३, दानाको रुप्सेखोलामा आएको बाढीले अस्थायी काठको फड्के बगाएपछि समस्या झेल्दै आएका रुप्से–काभ्रेका स्थानीयबासीले आइतबार पुनः हालेका छन् ।

गएको मंगलबार मध्यरातमा उर्लिएर आएको रुप्से खोलाले फड्के बगाएसँगै सिधा सम्पर्कबिच्छेद भएपछि स्थानीयले जोखिम मोलेर काठको फड्के हालेका हुन् । काठको फड्के समेत बगाएपछि दानाकै काभ्रे र हिमाली जिल्ला मुस्ताङ जाने सर्वसाधारणले अन्नपूर्ण–४ नारच्याङको घराप हुदै करिब २ घण्टाको यात्रा गर्न बाध्य थिए ।

‘साउन महिना यता दुईपटक काठको फड्के बगायो,‘पाँच मिनेटको यात्राका लागि दुई घण्टा घुम्नुपर्ने बाध्यता तत्काललाई टरेको छ’बेनी–जोमसोमकोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भन्नुभयो ।

‘अब रुप्सेको तल्लो क्षेत्रबाट आवतजावत गर्न सकिन्छ,‘तत्काल सडक सञ्चालनको सम्भावना छैन’ उहाँले भन्नुभयो । रुप्से आसपासमा गहिरो खोँच बनाएकाले पहिरोको जोखिमले समेत स्थानीय झरना नजिकबाट वारपार गर्न त्रसित हुने गरेका छन् ।

गत साउन ५ गते रातीको अविरल बर्षासँगै रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो ।

दैनिकजसो रुप्से आसपासका क्षेत्रमा खस्ने पहिरोले समेत सडक मर्मतमा समेत समस्या भइरहेको छ । सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ निर्यातमा समस्या भएको छ ।

स्याउ किसानले टिपेर तयारी अवस्थामा राखेको स्याउ लिन गएका ठूला मालबाहक ट्रक समेत बाटोमै अलपत्र परेका छन् । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिना यता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन् ।

Leave a Reply