OLYMPUS DIGITAL CAMERA

प्रर्याप्त वर्षा र समयमा नै रोपाइँ गरेका कारण म्याग्दीका फाँटहरुमा यतिबेला विगतका वर्षहरुमा भन्दा राम्रो भएर धानबाली फस्टाएको छ । फाँटहरुमा धानका बोटले गाँज फिजाएर हरियाली फैलाएसंगै धान उत्पादनमा बृद्धि हुने संकेतले किसानहरुको अनुहारमा पनि खुसीको चमक देखिएको छ ।

धान उत्पादनका लागि अब्बल मानिएको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको तल्लो र उपल्लो दुवै फाँटमा गुडुरा र गौरिया धानको हरियालीले वातावरणलाई नै रोमाञ्चक बनाइदिएको छ ।
रोग किराले नछोएको र सिंचाइँको अभाव नभएकाले यस वर्ष म्याग्दीमा धान उत्पादनमा विगतका वर्षको भन्दा २० प्रतिशतसम्म बृद्धि हुने कृषकहरुको भनाइ रहेको छ ।

OLYMPUS DIGITAL CAMERA

गौरिया र गुडुरा धानका बोटबाट आएको सुगन्ध र फाँटैभरी फैलिएको हरियालीले यहाँका किसानहरु मात्रै होइन बाटो हिड्ने बटुवाहरु पनि मुग्ध भएका स्थानीय कृषक प्रेमबहादुर कार्कीले बताए ।

सिंचाइ नहुने खेतमा पनि भएन पानीको अभाव
म्याग्दीको कुल खेतीयोग्य जमिनको ५३ प्रतिशत जमिनमा मात्रै सिंचाइको व्यवस्था रहेको छ । अरु सबै जमिनमा आकाशे पानी र बर्खे भेलबाट रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ ।

तर,यस वर्ष भने सिंचाइ नहुने खेतमा पनि राम्रोसंग धानबाली फस्टाएको छ । विगतका वर्षहरुमा साउनको अन्त्यसम्ममा सकिने रोपाइँ यस वर्ष असारको तेस्रो सातामा नै सकिएको थियो । त्यसयता लगातार रुपमा

वर्षा भएकाले सिंचाइँको कुनै अभाव नभएको कृषकहरुले बताएका छन् ।म्याग्दीको ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । म्याग्दीमा गौरीया,जर्नेली,गुडुरा,जेठोबूढो,मार्सि,ताकमारे,भट्टे पहेंले,लगाएतका रैथाने र छमरुङ,माछापुच्छ«े,अन्नपूर्ण ३, खुमल १०,लुम्ले २ लगाएतका उन्नत जातका धान खेती हुने गरेको छ ।

प्रविधि र प्रकृति दुवैबाट सन्तुष्ट कृषक
म्याग्दीका किसानहरुले परम्परागत कृषि औजारको ठाउँमा प्रविधिको प्रयोग गर्न थालेका छन् । खेतीपातीका लागि प्रविधिले किसानलाई सजिलो बनाइदिए पनि विगतका वर्षहरुमा प्रकृतिले भने साथ नदिँदा निराश बन्नु परेकोमा यस वर्ष भने प्रकृतिले पनि साथ दिएकोले किसानहरु सन्तुष्ट छन् ।

प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अव खेतका गह्रा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् ।

गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो,जुवा लगाएतका परम्परागत कृषि सामाग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ ।

कृषकहरु निर्वाहामुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् भने परम्परागत तरिकाले खेति लगाउँदा व्यहोर्नु पर्ने धेरै किसिमका झन्झटहरुबाट पनि मुक्ति मिलेको कृषकहरुले बताएका छन् ।

‘पहिला पहिला खेत जोत्नका लागि हलि र गोरु खोज्नु पर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नु पर्ने,दिनभरी गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगाएतका धेरै झन्झट हुने गर्थे’ मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका ४ सिंगाका कृषक नारायण पौडेलले भने ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसन्चो हुन्छ । मिनिटिलर वा ट्याक्टर लगायो एकै छिनमा मेलो सकिन्छ ।’

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनिटिलर र ट्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकहरुले बताएका छन् ।

OLYMPUS DIGITAL CAMERA

अहिले म्याग्दीका सवै गाउँहरुमा मिनिटिरले प्रयोग व्यापकरुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, वाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नु पर्ने झन्झट पनि हटेको कृषकहरुको भनाइ रहेको छ ।

प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षैदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ ।

Leave a Reply