करेन्ट लागेर दुवै हात गुमाएकी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,पाउद्धारकी कृशिखा विकको उपचारमा ३६ लाख आर्थिक सहयोग जुटेको छ।

घर नजिकै खेल्ने क्रममा बैशाख ३ गते ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाईते भएकी विकलको उपचार तथा शिक्षादिक्षामा स्वदेश तथा विदेशबाट रहेका म्याग्देलीको पहलमा ३६ लाख संकलन भएको कृशिखा उपचार सहयोग समितिले जनाएको छ ।

अचेत अवस्थामा उद्धार गरी पोखरा हुदै काठमाण्डौको किर्तीपुर हस्पिटलमा उपचारको क्रममा दुवै हात कुमबाटै काटेर फाल्नुपरेपछि उपचारसँगै शिक्षादिक्षामा समेत सहयोग प्राप्त भएको अभियानकी बेनी संयोजक दिवा पुनले बताउनुभयो ।

‘कोरोनाको जोखिममा पनि संसारभरीबाट साथ दिनुभयो,‘उपचारमा खर्च भएर बाँकी पैसालाई मुद्धतीमा राखिएको छ’ पुनले भन्नुभयो । अभियानमार्फत संकलन भएको २७ लाख ३८ हजार गरिमा विकास बैंकमा मुद्धतिमा राखिएको छ ।

कृशिखाको उपचारमा यूकेमा तुलचन्द्र तिलिजा, पाउद्धारका समाजसेवी राजु पुन, नेदरल्याण्डबाट जंगबहादुर पुनका साथै विभिन्न देशमा पाउद्धार र मामाघर खिवाङबासीले आर्थिक जुटाएका थिए ।

सोमबार पाँचौ बर्षमा प्रवेश गरेकी कृशिखाको जन्मदिनको अवसरमा उपचार र शिक्षादिक्षामा सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई आमा शुसिलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

‘एउटा विपन्न परिवारमा जन्मिएर पनि छोरीको उपचारमा विश्वभरबाट साथ दिनुभयो,‘छोरीले दोस्रो जन्म लिईन्’ उहाँले भन्नुभयो ।

मिलन म्याग्दीमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शिब बानियाँले संस्थाले सामाजिक र मानवीय सेवालाई समेत निरन्तरता दिने बताउनुभयो ।

कृशिखाको उपचारमा बेनीअनलाइनले निरन्तर समाचार प्रकाशित गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दिलु विटालुले बताउनुभयो । यसैबीच कृशिखाको उपचारसँगै शिक्षादिक्षाका लागि बेनीबजारमै अनुकुल विद्यालय खोजिने भएको छ । दुवै हात नभएको अवस्थामा खुट्टाको सहयोगमा अक्षर कोदैं गरेको अवस्थामा नृत्य प्रशिक्षण र विद्यालयमा नियमित पठाउने परिवारले जनाएको छ ।

 

Leave a Reply