पश्चिम म्याग्दीको दरबाङ बजारमा महिनाको दुई पटक खाद्य सामग्री खरीद गर्दै आएकी मालिका गाउँपालिका-७ बिमकी जमुना जुग्जालीले गत विहीबार चामल,दालका साथै सोयाविन,मैदा र खाने तेल किनिन्।

पसलबाट उनले खरीद गरेको तेलको उपभोग्य म्याद २०७६ चैत २२ गते,मैदाको २०७७ जेठ १३ गते र सोयाविनको असार २२ गते नै सकिएको थियो ।

तर उनले यसबारे कुनै जानकारी नै भएन । यस्तै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटको स्थानीय पसलबाट बेनी नगरपालका ३ भकिम्लीकी विमला घर्तीले गत बुधवार २ प्याकेट ‘फ्रुटी’ जुस किनेर ९ वर्षिय छोरालाई खुवाए ।

तर त्यस लगत्तै छोराले बान्ता गरेपछि त्यसबारे सोधीखोजी गर्दा उक्त जुसको म्याद २०७७ जेठ १७ गते नै सकिएको थाहा भयो । स्थानीय पसलबाट म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्ने म्याग्दीका जमुना र बिमला निरीह उपभोक्ताका प्रतिनिधि मात्र हुन् ।

म्याग्दीका अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुको विक्रीवितरण रोक्नेतर्फ सरकार र सम्बन्धित निकायले कुनै पहल नगर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ । सदरमुकाम बेनीबजारमा समेत नियमित रुपमा बजार अनुगमन हुन सकेको छैन ।

करिब एक वर्ष अघि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले हरेक महिनाको दोस्रो सोमबार जिल्लाका सबै स्थानीय तहमा अनुगमनको अभियान नै सञ्चालन गरेपनि सरुवा भएर गएलगत्तै आएका ज्ञाननाथ ढकालले समेत पसलैपिच्छे अनुमगन गरी कडाई गरेपनि पछिल्ला दिनमा ग्रामिण क्षेत्रका बजारसँगै बेनीमा

समेत प्रभावकारीरुपमा बजार अनुगमन हुन नसकेको स्थानीय उपभोक्ताहरुको भनाइरहेको छ ।

म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरू खुलेआम विक्रीवितरण गर्नेलाई जिम्मेवार निकायले कारबाही नगर्दा संविधानमा उल्लेख भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनले व्यवस्था गरेको अधिकारबाट समेत म्याग्दीका उपभोक्ताहरु वञ्चित भएका छन् ।

गत चैत ११ गतेदेखि लकडाउन भएपछि खाद्यान्न ढुवानीमा सहज पहुँच नभएका कारण जिल्लाका ग्रामिण क्षेत्रहरुमा अझैपनि चैत अघि नै लगिएका खाद्यान्न र अन्य सामानहरुको विक्रि भैरहेको पाइएको छ ।

उपभोक्ताले आपूmले पसलबाट खरीद गरेको खाद्य सामग्रीको म्याद हेर्न नजान्ने, विक्रेताले पनि सामग्रीको म्यादबारे जानकारी नदिने र नियामक निकायले बजारको नियमित अनुगमन र कैफियत पाइएका पसललाई कारबाही नगरेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका हुन् ।

भर्खरै बजारबाट किनेका सामान पनि पुरानो हुन्छ र ? भन्दै आश्चर्य मानेका रुम स्थायी घर भै हाल बगरफाँटमा बस्दै आएका आरावाला देव मगरले त्यसबारे आफूलाई केही जानकारी नभएको बताए ।
यस्तै आफूलाई अंग्रेजीमा लेखिएको म्याद हेर्न नआउने भएकाले पनि यसबारे सजिलै थाहा नपाएको उपभोक्ताहरुको भनाइरहको छ ।

‘मिति नेपालीमा लेखेको भए हेर्न सजिलो हुने थियो,’ बगरफाँटका उपभोक्ता टीका बहादुर कार्कीले भने । अंग्रेजीमा लेखिएको हुनाले आपूmजस्तै गाउँका धेरैले थाहा नपाएको उनले भने ।

यस्तै गाउँमा यातायातको सहज पहुँच नहुँदा घोडा, खच्चडमा बोकाएर लगिएको अधिकांश सामान मिति नै मेटिएको अवस्थामा पुग्ने गरेको ग्रामिण क्षेत्रका उपभोक्ताहरुको भनाइरहेको छ।

‘गाउँका अधिकांश स्थानीय तहले बजार अनुगमन नगर्दा दैनिक ग्रामीण क्षेत्रका स्थानीय अखाद्य वस्तु उपभोग गर्न बाध्य छन्,’ मंगला गाउँपालिका ४ बरंजाका उपभोक्ता रेशम सापकोटा बताए ।

सदरमुकाम बेनीबजारमा कहिले काँही फाट्टफुट्ट बजार अनुगमन हुने गरेको भएपनि ग्रामिण क्षेत्रका पसलहरुको अनुगमन नहुँदा व्यापारीले आफ्नो नाफाका लागि उपभोक्ताकोे स्वास्थ्यमाथि गम्भीर प्रकारको समस्या पार्ने खाद्य वस्तु विक्री वितरण गरिरहेको म्याग्दीका अधिकारकर्मीहरुले बताएका छन् ।

बजार अनुगमनको जिम्मेवारी पाएको स्थानीय प्रशासनले बजार अनुगमनलाई सदरमुकाममा मात्रै सीमित राख्ने र गाउँमा स्थानीय तहसँग समन्वय नगरेकाले पनि म्याद नाघेका खाद्य सामग्री उपभोग गर्न बाध्य भएको उनीहरुको भनाइरहेको छ । यता जिल्ला प्रशासन कार्यालयले भने अनुगमनलाई आवश्यकता अनुसार निरन्तरता दिइरहेको जनाएको छ ।

Leave a Reply